काठमाडौं– बिहीबार बिहानैबाट सर्वसाधारण काठमाडौंमा दुर्गा प्रसाईं र नेकपा एमालेको आन्दोलनले कस्तो रुप लिने हो भनी चिन्तामा थिए । दुर्गा संघीयताविरुद्ध बल्खुमा आउँदै थिए, एमाले दुर्गाको विरोधमा तीनकुनेमा । दुर्गाको मुद्दा प्रस्ट थियो– चर्को ब्याज लगाउने वित्तीय संस्था र संघीयताविरुद्ध । तर, एले भ्रष्टाचार र महँगीविरुद्ध सडकमा आएको बताइरहँदा दुर्गाको आन्दोलनमाथि पनि जाइलाग्ने तयारीमा थियो ।
सम्भावित झडप रोक्न सरकारले सुरक्षा व्यवस्था कडा पारेको थियो, कतिबेला के हुने हो ? धेरैको चासोको विषय बनेको थियो । तर प्रदर्शन सुरु नहुँदै सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भयो । उक्त फोटो थियो, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बलिङ गरिरहेको । ओली बिहानै मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी ओली कप’ उद्घाटन गर्न पुगेका थिए । उक्त कार्यक्रम उद्घाटन गर्ने क्रममा ओलीले बलिङ गरेका रहेछन् । एकछिनपछि ओलीले ब्याटिङ गरेको तस्बिर पनि आयो । यद्यपि, बलिङ गरेको तस्बिरले नै बढी चर्चा पायो ।
केहीबेरमै बल्खु क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । एक प्रदर्शनकारीले प्रहरीमाथि इँटा प्रहार गरिरहेको तस्बिर थपियो । ती युवाको ठीक पछाडि युवा संघको झण्डा देखिन्थ्यो । यही फोटो जोडेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘पोखरामा ओलीको बलिङ, काठमाडौंमा युवा संघको’ भन्दै पोस्ट गर्न भ्याए । हुन पनि ओली काठमाडौंमा झडपको बीउ सल्काएर पोखरा पुगेका थिए । अघिल्लो दिन ओलीले पार्टी मुख्यालयबाट पार्टी नेता कार्याकर्तालाई शान्तिपूर्ण आन्दोलन गर्न निर्देशन दिएका थिए । यद्यपि युवा संघ र अनेरास्ववियू उग्र सुनिन्थ्यो ।
पोखरामा ओलीले बलिङ–ब्याटिङ दुवै गरे । कार्यक्रम उद्घाटनअघि करिब १० मिनेटको मन्तव्यमा ओलीले काठमाडौंमा भएको आन्दोलनबारे चर्चासमेत गरेनन् । व्यवस्थाप्रति आक्रोशित जनता अहिले दुर्गाको साथमा देखिन्छन् । उनै दुर्गाविरुद्ध ओली किन आक्रामक बने त ? धेरैको प्रश्न छ । सरकारको विरोध नगरी दुर्गाको प्रतिकार गरेकोमा धेरैले एमालेविरुद्ध इखसमेत साँधेका छन् । ‘एमाले प्रसाईंसँग भिड्न जाने होइन,’ एमालेनिकट एक राजनीतिक विश्लेषक भन्छन्, ‘समाजमा यत्रो निराशा छ प्रतिपक्षीचाहिँ दुर्गासँग भिड्न जाँदा इख त साँधिहाल्छन् नि ।’ यस्तो जोखिम मोलेर ओलीले महेश बस्नेतलगायतलाई किन सडकमा उतारे होलान् ?
एमाले अध्यक्ष ओली राजनीतिमा चतुर खेलाडी मानिन्छन् । नयाँ संविधान जारी भएपछि भएको दोस्रो निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाको मुखैमा पुगेको सत्ता नेतृत्वको गाँस खोस्न उनी सफल भए । नेकपा फुटाएर तीन टुक्रा बनाएको झोंकमा बोलचाल बन्द गरिसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बालकोट लगेर प्रधानमन्त्री बनाए । तर केही महिनामै कांग्रेसले उनकै भाषामा ‘ढोक्सा’ थापेर दाहाललाई पुरानै गठबन्धनमा फर्काए ।
गुमेको सत्ता फर्काउन ओली अहिले तल्लीन छन् । ओली जसरी पनि आफू चर्चामा आएको हेर्न मन पराउँछन् । संघीय संविधान जारी भएपछिको पहिलो निर्वाचनपछि नै दुईपटक संसद् विघटन गरेर विवादमा आएको ओलीलाई लोकतान्त्रिक दलका नेताहरु अधिनायकवादी भएको आरोप लगाउँछन् ।
केन्द्रमामात्र हैन अहिले सातै प्रदेशको सत्ता गुमेपछि ओली कहिले संसद्मा विवाद चर्काएर त कहिले प्रधानमन्त्रीको कामकारबाहीविरुद्ध आलोचना गरेर सरकारलाई अप्ठेरोमा पार्ने प्रयासमा उत्रे । पछिल्लोपटक ओलीले कोशीमा कांग्रेस संस्थापनइतरका डा. शेखर कोइराला प्रयोग गरी आफ्नो दललाई सरकारमा निरन्तरता दिने प्रयास गरेका थिए । तर उक्त प्रयास पनि असफल भयो । आफ्नो पछिल्लो प्रयासको कुनै जादू नचलेपछि ओलीले युवा संघ र अनेरास्ववियुसहित नेता महेश बस्नेतलाई अघि सारेका हुन्, आन्दोलनमा ।
महेशको नेतृत्वमा भएको आन्दोलनमा एमालेका शीर्ष नेता तीनकुनेमा देखिएनन् । यसले पनि एमालेको आन्दोलन संशयमा छ । कुनै बेला आफैंले राजनीतिमा डेब्यु दिएका दुर्गाले आन्दोलनलाई प्रतिकार गर्न ओलीले आफ्ना पार्टीका नेता–कार्यकर्तालाई किन सडकमा उतारे ? कतै सरकारविरुद्ध माहोल बनाउन ओलीका चालबाजी त हैन ? ओली अहिले यस्तै प्रश्नको घेरामा परेका छन् ।