काठमाडौं– चालु आर्थिक वर्ष (आव) २०८०/८१ को चौथो महिना अर्थात् कात्तिकमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या घटेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कात्तिक महिनामा ४३ हजार ६२२ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा गएका हुन् । यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिने दुवैतर्फको हो ।
विभागको तथ्यांकअनुसार कात्तिकमा विदेशिने नेपालीको संख्या गत असोज महिनाको भन्दा १२ हजार ६१३ ले घटेको छ । असोजमा ५६ हजार २३५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । चालु आवको सुरुआती महिनादेखि संयुक्त अरब इमिरेट्स (युएई) नेपाली श्रमिकको पहिलो गन्तव्य बनेको छ । विभागको तथ्यांकअनुसार युएईका लागि १२ हजार ४८५ जनाले श्रम स्वीकृति लिएका छन् । गत असोज महिनामा युएई जान १३ हजार ९०५ जनाले श्रम स्वीकृति लिएका थिए ।
यस्तै कात्तिक महिनामा रोजगारीका लागि कतार जान आठ हजार ४६२ जनाले श्रम स्वीकृति लिएका छन् । संख्याको हिसाबमा कतार दोस्रो स्थानमा परेको छ । त्यसैगरी तेस्रोमा साउदी अरेबिया रहेको छ । साउदीमा आठ हजार १४० जना श्रमिक श्रम स्वीकृति लिएर रोजगारीका लागि पुगेको विभागले उल्लेख गरेको छ । यसअघि साउदी दोस्रो स्थानमा थियो । चालु आव सुरु भएयता युएई, कतार र साउदी जाने नेपालीको संख्या हराहारीजस्तो देखिएको छ ।
यसैगरी गत आर्थिक वर्षभरि पहिलो स्थान ओगटेको मलेसिया जाने नेपालीको संख्यामा निरन्तर कमी आएको छ । चौथो स्थानमा झरेको मलेसिया जान पाँच हजार ५५२ जनाले मात्रै कात्तिकमा श्रम स्वीकृति लिएका छन् । यो संख्या असोजमा सात हजार ९०९ जना थियो । यस्तै पाँचांै स्थानमा परेको कुवेतमा दुई हजार ९८ जना नेपाली श्रमिक रोजगारीका लागि पुगेका छन् । कुवेत जाने श्रमिक पनि निरन्तर घटिरहेको तथ्यांक छ । यद्यपि, उल्लिखित पाँच मुलुकले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशतभन्दा बढी) ओगटेको देखिन्छ ।
यसैगरी क्रोएसियाका लागि एक हजार १६२, जापान ८७०, माल्दिभ्स ६२८, बहराइन ५०४, रोमानिया ४६३, माल्टाका लागि ४१९, मोरिसस ३७३, ओमान ३६९ र साइप्रसका लागि ३१० जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्यामा निकै कमी आएको छ । कात्तिक महिनामा कोरिया जान २८५ जनाले मात्रै श्रम स्वीकृति पाएका छन् । उल्लिखित मुलुकहरुमा पनि श्रम स्वीकृति लिएर जाने नेपालीमा उल्लेख्य कमी आएको छ ।
विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने १९ हजार ५४४ जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या २४ हजार ७८ जना रहेका छन् । चालु आवको चौथो महिनामा श्रम स्वीकृति लिनेमध्ये पाँच हजार ३०० जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या क्रमिक रुपमा बढ्दै गएको विभागको तथ्यांकबाट देखिएको छ ।
यस्तै जिल्लागतरुपमा झापाबाट सबैभन्दा बढी रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ । कात्तिकमा झापाबाट दुई हजार १०८ जना विदेशिएका छन् । गत आर्थिक वर्षभरि पहिलो रहेको धनुषा चालु आवको सुरुआतबाटै दोस्रो स्थानमा झरेको छ । त्यहाँबाट दुई हजार ५७ जना श्रमिक विदेशिएका छन् । यस्तै तेस्रो स्थानमा मोरङबाट एक हजार ९३० जना रोजगारीका लागि बाहिरिएका छन् ।
चौथोमा रहेको सिरहाबाट एक हजार ५९४ र पाँचौंमा रहेको महोत्तरीबाट एक हजार ४५० जना रहेका छन् । त्यसैगरी रुपन्देही, सुनसरी, चितवन, सर्लाही, तनहुँ, स्याङ्जा, दाङ, नवलपरासी पूर्व, मकवानपुर, कास्की, कपिलवस्तु, धादिङ, काभ्रे, रौतहट, बारा, बागलुङबाट पनि वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुको संख्या ठूलो रहेको विभागको तथ्यांकले देखाएको छ ।
कात्तिकमा धेरै श्रमिक गएका मुलुक
युएई ः १२,४८५
कतार ः ८,४६२
साउदी ः ८,१४०
मलेसिया ः ५,५५२
कुवेत ः २,०९८
क्रोएसिया ः १,१६२
जापान ः ८७०
माल्दिभ्स ः ६२८
बहराइन ः ५०४
रोमानिया ः ४६३
स्रोतः वैदेशिक रोजगार विभाग