काठमाडौं– वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारसँग स्थलगत संवाद गर्ने भएको छ । बोर्ड बैठकबाट निर्णय भई कार्यान्वयनका लागि तय गरेका कार्यक्रममध्ये विदेशमा गएका नेपाली श्रमिकहरुका परिवारसँग तत्कालै स्थलगत संवाद गर्ने भएको हो ।
बोर्डले रोजगारीको क्रममा विदेशमा रहेका श्रमिकका परिवारलाई भेट्ने कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम पुनः सञ्चालन गर्न लागेको उल्लेख गरेको छ । उक्त कार्यक्रमले विदेशमा रहेका श्रमिकहरुको मनोबल उकासिने र नेपालमा रहेको परिवारमा थप हौसला मिल्ने विश्वास गरिएको बोर्डका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकालले बताए ।
‘बोर्डले दसैंअघि लुम्बिनी प्रदेशको नेपालगञ्जमा वैदेशिक रोजगारमा गएका श्रमिकका परिवारसँगको स्थलगत संवाद कार्यक्रम गरिसकेको छ,’ उनले भने, ‘आगामी दिनमा बाँकी छ वटा प्रदेशमा पनि तत्कालै कार्यक्रम गर्ने तयारी भइहेको छ ।’ बोर्ड बैठकले निर्धारण गरेका उल्लिखित कार्यक्रमसँगै अतिरिक्त कार्यक्रमहरुलाई पनि सँगसँगै लैजान लागिएको उनले जानकारी दिए ।
यसैगरी बोर्डले वैदेशिक रोजगारका क्रममा मृत्यु भएका तथा अंगभंग भएका श्रमिकका बालबालिकाहरुलाई दिइने छात्रवृत्तिका लागि आवेदन आह्वान भइरहेको जनाएको छ । चाडबाडको बिदाकै समयमासमेत बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरुमध्ये चारजनाको शव परिवारलाई जिम्मा लगाइएको पनि ढकालले बताए । विदेशमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि काम गर्दै आएको बोर्डले चाडबाडभन्दा पनि श्रमिकको हितलाई ध्यानमा राखेर काम गर्दै आइरहेको उनको भनाइ छ ।
बोर्डले नियमत रुपमा विदेशमा अलपत्र परेका श्रमिकहरुको उद्धार, अंगभंग तथा बिरामी कामदारलाई आर्थिक सहायता, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको स्वदेशमा शव झिकाउने र मृतकको शव घर ठेगानासम्म ढुवानी गर्ने तथा मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने, श्रमिकका परिवारलाई स्वास्थ्य उपचार सहयोग गर्ने तथा अभिमुखीकरणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।