काठमाडौं- वैदेशिक रोजगार विभागको सर्भर पटक–पटक डाउन हुँदा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ । विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेइम्स) मा पटक–पटक समस्या आएका कारण सेवाग्राही सास्ती खेप्न बाध्य भएका हुन् ।
फेइम्स प्रणालीको सर्भर डाउन भएपछि विभागले फाइल सर्भर मेन्टिनेन्स कार्य भइरहेको भन्दै उक्त प्रणालीमा कुनै डकुमेन्ट अपलोड नगर्न सम्बन्धित सबैको जानकारीका लागि सूचना जारी गरेको छ । विभागले अर्को सूचना जारी नभएसम्म फेइम्स प्रणालीमा डकुमेन्ट अपलोड नगर्नसमेत आग्रह गरेको छ ।
यद्यपि, फेइम्समा समस्या आएको यो पहिलोपटक भने होइन । यसअघि पनि पटक–पटक फेइम्समा समस्या आएर सेवाग्राहीले सास्ती खेप्नुपरेको वैदेशिक रोजगार व्यवसायीको गुनासो छ । व्यवसायीका अनुसार फेइम्सको सर्भर डाउन भएपछि वैदेशिक रोजगारीमा जानेहरू श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमै पुग्न बाध्य भएका छन् ।
वैदेशिक रोजगारसम्बन्धी सबै कार्य पूर्णरुपमा अनलाइनमार्फत सेवा प्रवाह भइरहेका बताइए पनि फेइम्स प्रणालीमा पटक–पटक समस्या आउनुमा विभागकै लापरवाही रहेको सेवाग्राहीहरुको आरोप छ । यता फेइम्समा आइरहने समस्याको दीर्घकालीन समाधानका लागि काम भइरहेको विभागका महनिर्देशक मदन दाहालले बताए । उनका अनुसार सर्भरको क्षमता कम रहेको र सेवाग्राहीको चाप बढेकाले पटक–पटक समस्या आउने गरेको छ ।