काठमाडौं – वैदेशिक रोजगारीको लागि पोर्चुगल पुगेका एक नेपालीको आफ्नै साथिले छुरा प्रहार गर्दा ज्यान गएको छ । मदिरा सेवान गरेका साथीको छुरा प्रहारबाट पर्वतको कुश्मा नगरपालिका–१३, खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको ज्यान गएको हो ।
पोर्चुगलको ओडिमिरा बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्ने पुतलीबजार–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गएको मंगलवार राति छुरा प्रहार गरेको बताइएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका क्षेत्रीको शान्तियागोमा रहेको लिटरोल अलेन्टेजानो अस्पतालमा बिहीवार उपचारका क्रममा ज्यान गएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए ।
मदिरा सेवनबाट मातेका गुरुङले क्षेत्रीलाई छुरा प्रहार गरेर ज्यान लिएको पोर्चुगलमा रहेका अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले पुष्टि गरे । उनका अनुसार गुरुङलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिसकेको छ । क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिना अघि पोर्चुगल पुगेका हुन् । उनीहरु दुवैजनाले ओडिमिराको एक कृषि कम्पनीमा काम गर्ने गरेको बताइएको छ ।