काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा सक्रिय हुने संकेत गरेका छन् । अरुबेला विज्ञप्तिमार्फत सरकारविरुद्ध असन्तुष्टि मात्रै व्यक्त गर्दै आएका शाह शनिबार झापाको बिर्तामोडमा आयोजित राजनीतिक कार्यक्रममा सहभागी भए ।
उनी यसअघि धार्मिक सभामा भने सहभागी हुँदै आएका थिए ।
मठमन्दिरको दर्शनमा पनि जाने गरेका थिए । तर, शनिबार पृथ्वीनारायण शाहको शालिक अनावरणको मौका पारेर राप्रपाले शक्ति प्रदर्शन गर्दा पूर्वराजा शाह सहभागी भए ।अनावरणपछि उनले सम्बोधन भने गरेनन् । त्यसै काठमाडौं फर्किए । उनलाई बिदाइ गरेसँगै पत्रकारहरूसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘गणतन्त्रको जग हल्लिसक्यो । ढल्नमात्रै बाँकी छ ।’
पूर्वराजाले च्याँखे थापेर बस्ने होइन, पार्टी खोलेर चुनाव लड्न आए हुन्छ । - गगन थापा,महामन्त्री, कांग्रेस
यता काठमाडौंमा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनी नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान समूह लगातार गणतन्त्रविरुद्ध प्रदर्शनमा छ । प्रसाईं नेतृत्वको समूहको प्रदर्शनलाई बेवास्ता गरेर पूर्वराजा शाह शुक्रबार झापा पुगेका थिए ।
त्यहाँ राप्रपाको शक्ति प्रदर्शनमा सहभागी भएपछि गणतन्त्र प्राप्तिको आन्दोलनका एक जना नेता तथा कांग्रेस महामन्त्री गगन थापा असन्तुष्ट भए । उनले शाहलाई राजतन्त्र फर्काउने नै हो भने पार्टी खोलेर चुनाव लड्न चुनौती दिए । यदि, दल खोलेर चुनाव नलड्ने भए जुवाको खालमा जसरी च्याँखे नथाप्न चेतावनी दिए ।
गणतन्त्रको जग हल्लिसक्यो । ढल्नमात्रै बाँकी छ । - राजेन्द्र लिङ्देन, अध्यक्ष, राप्रपा
‘पूर्वराजाले पनि जुवाको च्याँखे खालमा दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए सीधै खालमा भिड्न आए हुन्छ, कांग्रेस भिड्न तयार छ,’ कांग्रेस गुल्मीको सम्मेलन उदघाटन गर्दै थापाले भने, ‘जाने पार्टी खोल्ने, चुनाव लड्ने, हाम्रो संविधानले दिन्छ । बहुमत ल्याउने संविधान बदल्ने फेर्ने । राजतन्त्र फर्काउने ।’
देशमा राजतन्त्रको अन्त्य भएको डेढ दशक नाघ्यो । एउटै वंशका सन्तान राष्ट्रप्रमुख हुने राजतन्त्रात्मक प्रणालीको अन्त्यसँगै देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक भएको छ । तत्कालीन नेकपा माओवादीले थालेको १० वर्षे सशस्त्र विद्रोह र दोस्रो जनआन्दोलनको जगमा राजतन्त्र ढलेको हो । यसपछि तत्कालीन राजा ज्ञानेन्द्र नागरिकको हैसियतमा छन् । तर, उनी र राप्रपासहितका केही शक्ति बारम्बार राजतन्त्र फर्काउने जमर्कोमा छन् ।