काठमाडौं– वैदेशिक रोजगारीका लागि इपिएस प्रणालीमार्फत दक्षिण कोरिया पुगेका नेपाली श्रमिकहरूको आत्महत्या न्यूनीकरणका लागि ‘ह्याप्पी होम रिटर्न’ कार्यक्रम सञ्चालन गरिने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले रोजगारीका क्रममा कोरियामा हुने नेपाली श्रमिकहरूको बढ्दो मृत्यु र आत्महत्या नियन्त्रण तथा न्यूनीकरणका लागि सचेतना अभियानसहित उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ ।
सन् २००८ देखि हालसम्म रोजगारीका लागि कोरिया गएका २५० जनाले ज्यान गुमाइसकेको इपिएस शाखाको तथ्यांकले देखाएको छ । यो १५ वर्षको अवधिमा ज्यान गुमाउनेमध्ये ६८ जना नेपाली श्रमिकले अत्महत्या गरेका छन् । मासिक आम्दानीको हिसाबले आकर्षक मानिएको कोरिया जाने श्रमिकले आत्महत्या गर्नु दुःखद रहेको भन्दै यसको न्यूनीकरणका लागि सरकारले आवश्यक पहल गरिरहेको इपिएस शाखाका निर्देशक गुरुदत्त सुवेदीले बताए ।
‘विभिन्न परिस्थितिले डिप्रेसनमा पुगेका र समस्यामा परेका नेपाली श्रमिकहरूलाई मनोवल बढाउन र उद्धार हुने गरी ह्याप्पी होम रिटर्न कार्यक्रम सञ्चालन गरिँदै छ,’ उनले भने, ‘यस्तो कार्य कोरियास्थित नेपाली राजदूतावासले गर्दै आइरहेको पनि छ, यसैलाई थप मद्दत गर्न र श्रमिकहरुमाझ जनचेतना फैलाउने तथा परामर्श दिने कार्यका लागि १० लाख रुपैयाँ पठाइसकिएको छ ।’
प्रत्येक वर्ष सरदरमा चार जनाले कोरियामा आत्महत्या गर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । अत्महत्या गर्नुको प्रमुख कारण डिप्रेसन नै रहेको शाखाले जनाएको छ । यद्यपि डिप्रेसनमा गएकाहरूलाई काउन्सिलिङ गर्ने र पुन आत्मबल जगाई आत्महत्या नियन्त्रणका लागि उक्त कार्यक्रम उपयोगी हुने निर्देशक सुवेदीले बताए । उक्त कार्यक्रम कोरियामा मात्र नभई नेपालमा पनि सञ्चालन गरिने उनले जानकारी दिए ।
‘घरपरिवारबाट हुने दबाबका कारण पनि आत्महत्याको घटना हुने गरेको पाइएको छ,’ निर्देशक सुवेदीले भने, ‘यसको नियन्त्रण गर्न पनि इपिएसमार्फत कोरिया गएकाहरूको घर परिवारका सदस्यसँग जनचेतनाका लागि अन्तरक्रिया एवं परामर्श गर्न जरुरी छ ।’ यसका लागि सातै प्रदेशमा कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए ।