कास्की– पोखरामा अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) जे–३० टेनिस प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सुरु प्रतियोगिता दुई सातासम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले उद्घाटन गरे । टेनिस कोर्टमा शनिबार र आइतबार छनोट चरणका खेल सञ्चालनपछि आजदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा पुरुषतर्फ ‘क्वालिफाइङ’ र ‘मेन ड्र’ गरी विभिन्न देशका ६४ खेलाडीको सहभागिता छ ।
महिलातर्फ ४७ खेलाडीको सहभागिता रहेको कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ नेपालसहित आठ देशका खेलाडी सहभागी छन् । नेपालबाट १०, भारतबाट ४४, जापानका चार, अमेरिकाका दुई तथा रसिया, क्यानडा, चीन र श्रीलङ्काबाट एक÷एक जना जना खेलाडीले भाग लिएका छन् ।
यसैगरी महिलातर्फ नेपालबाट सात, भारतबाट ३०, जापान, थाइल्याण्ड, अमेरिका, नर्वे, काजकिस्तानलगायतका देशबाट खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा खेलाडीले अङ्कका लागि प्रतिस्पर्धा गर्नेछन् । खेलाडीले प्राप्त गरेको अङ्कले उनीहरुको वरियता निर्धारण गर्नेछ । विजेता खेलाडीले ३० अङ्क, उपविजेताले १८, सेमिफाइन लिस्टले नौ, क्वाटरफाइन लिस्टले पाँच र अन्तिम १६ मा पुग्नेले आइटिएफकोे दुई अङ्क पाउनेछन् ।
प्रतियोगिताको उद्घाटन समारोहमा नेपालका नं १ टेनिस खेलाडी प्रदीप खड्का र नेहाल जङ्ग थापालाई सम्मान गरिएको थियो । खड्का र थापाले हालै काठमाडौँमा सम्पन्न गणेशमानसिंह राष्ट्रिय टेनिसका डवल्सतर्फका स्वर्णपदक विजेता हुन् । खड्काले एकलतर्फसमेत उपाधि जित्नु भएको थियो ।
कार्यक्रममा मन्त्री सिंखडाले प्रतियोगिता पोखराको खेल पर्यटन प्रवद्र्धनमा सहयोगी हुने बताए । उनले टेनिस खेल विकासका लागि पूर्वाधार निर्माण र खेलाडीको सुविधाका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री सिंखडाले भने, “प्रदेश सरकार खेलकुद विकासका लागि योजनाबद्ध अघि बढेको छ । खेल क्षेत्रलाई व्यावसायिक बनाउँदै अघि बढ्नु आवश्यक छ । खेल क्षेत्रका विसङ्गति हटाउन सबैको सहयोग र साथ आवश्यक हुन्छ ।”