काठमाडौं– बेलायतमा रोजगारीका लागि आवेदन दिएका नर्समध्ये ७१ जनाले मात्र अन्तरवार्तामा सहभागी हुने अवसर पाएका छन् । वैदेशिक रोजगार विभागले अनलाइन आवेदन दिएका नर्सहरूमध्ये तोकिएको मापदण्डको आधारमा छनोट गरी अन्तरवार्ताका लागि प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।
विभागले १०० जना नर्सका लागि अनलाइन आवेदन आह्वान गरे पनि ७१ जनाले मात्रै मापदण्ड पूरा गरेको उल्लेख गरेको छ । बेलायत सरकारसँग भएको जिटुजी (सरकार–सरकारबीच) सम्झौताअनुसार पहिलो चरणमा १०० जना स्वास्थ्यकर्मी (नर्स)को माग भइ आएकोमा आवेदन दिने अन्तिम म्याद (कात्तिक २ गते, १९ अक्टोबर) भित्र ७७१ जनाले आवेदन दिएका थिए ।
दक्ष जनशक्तिको उच्च माग रहेको बेलायतको स्वास्थ्य क्षेत्रमा ‘हेल्थ केयर एसिस्टेन्ट’को रुपमा १०० जना नेपाली नर्सलाई पठाउने गरी सरकारले गत साउन ४ गते अर्थात् २० जुलाईबाट आवेदन माग गरेको थियो । छनोटमा परेका नर्सहरुलाई डिसेम्बर ४ देखि ७ तारिखसम्म अन्तरवार्ताका लागि बोलाइएको छ । अन्तरवार्ता लैनचौरस्थित बेलायती राजदूतावासमा हुने विभागले जनाएको छ ।
नर्सका लागि तोकिएको कडा मापदण्डका कारण आवेदन दिनेमध्ये थोरैले मात्र पूरा कागजात पेस गर्न सफल भएको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए । ‘अनलाइन आवेदन दिएका नर्सहरुलाई मापदण्ड पूरा गर्न छुट भएका कागजात पुनः पेस गर्ने अवसर दिइए पनि पूरा गर्न नसकेका कारण ७१ जनामात्रै अन्तरवार्ताका लागि छनोट भएका हुन्,’ उनले भने ।
दुई देशबीचको श्रम समझदारीअनुसार बेलायत जान चाहने नर्सहरुले अंग्रेजी भाषा परीक्षण आइइएलटिएसमा न्यूनतम सात अंक र अक्युपेसनल इङ्ग्लिस टेस्ट (ओइटी)मा ‘बी’ ल्याएको प्रमाणपत्र पेस गर्नुपर्ने छ । यसको अलवा आवेदन दिने नर्सहरुले नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको र दुई वर्ष कार्यअनुभव रहेको प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने प्रावधान छ । सोहीअनुसार आवेदन दिने नर्सहरुले कागजात पूरा गर्न नसक्दा माग संख्याभन्दा थोरैमात्र अन्तरवार्ताका लागि छनोट भएको बताइएको छ ।
माग संख्याभन्दा पनि कम आवेदन परेका कारण अन्तरवार्ताका लागि छनोट भएका सबै नर्सले बेलायतमा रोजगारी पाउने सम्भावना देखिएको छ । रोजगार भर्ना प्रक्रियालाई पूरा गर्न वैदेशिक रोजगार विभाग र ह्याम्सपेयर हस्पिटल (एनएचएस) फाउन्डेसन ट्रस्ट युकेको संयुक्त समन्वय हुने छ ।
त्यस्तै द्विपक्षीय सम्झौताअनुसार भर्ना प्रक्रियामा कुनै पनि व्यक्ति, रोजगारदाता, संघसंस्था वा म्यानपावर कम्पनी वा एजेण्टको सहभागिता निषेध गरिएको छ । रोजगारीका लागि छनोट भएका नर्सहरुले कुनै पनि शुल्क बुझाउनुपर्ने छैन । रोजगारीका लागि बेलायत पुगेका नर्सहरुले तीन महिना तालिम लिएर त्यहाँको नर्सिङ काउन्सिलमा पनि अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै श्रम समझदारीअनुसार स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली नर्सहरुको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने छ । यो प्रक्रियाबाट जाने नर्सहरुको कार्यअवधि पाँच वर्ष रहेको छ ।