काठमाडौं - दक्षिण कोरियामा सिप विल्डिङ (पानीजाहज निर्माण)का लागि लैजान लिइएको कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले सोमबार एक सूचना जारी गर्दै एचआरडी सर्भिस कोरियाबाट भाषा परीक्षाको नतिजा प्राप्त भएको जानकारी दिएको हो ।
भाषा परीक्षामा चार हजार ९८ जना उत्तीर्ण भएका छन् । गत असोज १ गतेबाट सुरु भई मंसिर ७ गतेसम्म सञ्चालन गरिएको परीक्षामा ३२ हजार ५०७ जना सहभागी भएको शाखाका निर्देशक गुरुदत्त सुवेदीले बताए । जसमध्ये महिलाको संख्या दुई हजार १५३ रहेको थियो ।
प्राप्त नतिजाअनुसार भाषा परीक्षा पास गर्नेमा १९७ जना महिला रहेको पनि शाखाले उल्लेख गरेको छ ।पहिलो चरणको भाषा परीक्षा पास गरेका परीक्षार्थीहरुले अब सीप परीक्षण र कम्पिटेन्सी टेस्टमा सहभागी हुनुपर्ने छ । यसका लागि पछि सूचना प्रकाशित गरिने शाखाले जनाएको छ ।