ए कान्छा, त्यो मेरो तिहारमा बैनीले लगाइदिएको ढाकाको टोपी ल्याई दे त ! उहाँ साइलाकी छोरीको लगन जुराउने रे बोलाका छन् । ढिला भइसक्यो ।‘ह्या ! जानु पर्दैन के उहाँसम्म । आज गाडीसाडी चल्दैन भन्या था’छैन ?’ छोरो चिच्याउँछ ।
अँ तैँले भनेजस्तो हुन्छ नि । गाडी चले पनि नचले पनि निम्तोमा बोलाएपछि जानु पर्दैन ? एकाघरभित्रको मान्छेकाँ ! कुरा गर्छ । जसरी पनि जाने हो । त्यही पर त हो, हिँडेरै भए पनि गइहाल्छु नि । बरु तँचाहिँ घरमै बस अल्लारे केटाहरु देख्यो भने पुलिसले गाडी फोड्न आको भन्ठानेर समाउँछ ।
‘अँऽ अँऽ अल्लारे केटाहरु मात्र हुन्छन् नि फोड्ने । कुरा गर्नुहुन्छ । अहिले त उहाँ जोगीभोगी सबै सडकाँ देख्नुभएन अस्ति उता पूर्वतिर ? पहेँला फेटा बाँधेका उफ्रेका ! एउटीले भन्थै थि नि, एक मिनेटमै कुन ठाउँ खरानी हुन्छ भन्दै ।’
हुन्छ नि खरानी ! धुप बालेको हो र एकै छिनमा खरानी हुन । यस्तैले हो आफू पनि खरानी बन्ने अरुलाई पनि खरानी बनाउने । ताल न तुइको कुरा बोल्या छन् बस्या छन् । ‘नपाउनेले के पायो बोक्रैसम्म चपायो’ भन्या जस्तो । ल भैगो छाड्दे त्यो मेरो ढाकाको टोपी ल्याइदे ।
‘भर्खर दिएको हैन ?’ कहाँ दिनु ल्याइदिएकै छैन । ‘अनि त्यो हातको चाहिँ के हो नि ?’ (हातमा भएको टोपी देखाउँदै)
ए हातमै लिएर खोजेको खोज्यै छु । अब त पक्कै बूढ्यौली लागेछ । ल म हिँडे (हातको टोपी शिरमा लगाउँदै) ।
‘म बाइकमा पु¥याइदिन्छु नि त ।’
पदैैन–पर्दैन, गाडी नचल्ने भएपछि किन बाइकमा हिँड्नुपरो । म खुरुखुरु हिँडेर पुग्छु त, १५–२० मिनेट हो ।
दौरा सुरुवाल ढाकाटोपीमा चिटिक्क सजिएर उनी निस्कन्छन् ।
‘ल ल जानुस्, बाटोमा हिँड्दा ध्यान दिएर जानुस् नि ।’
हुन्छ के हुन्छ चिन्तै नगर त्यही सिनामंगलसम्म त हो किन आत्तिनु प¥यो र ?
‘भए पनि आज दिन ठीक छैन ।’
अग्लो ज्यान, खरानी रङको लवेदा (दौरा) सुरुवाल, पाल्पाली ढाकाटोपी लगाएर लमकलमक लम्कँदा त लाग्थ्यो कुनै सरकारी उच्च ओहोदाका व्यक्ति हुन् हरिलठ्ठक बाजे । कोटेश्वरबाट उत्तर लागेका हरिलठ्ठक बाजे बाटाभरि पुलिस देखेर मनमनै भन्दै छन्– कस्ता दिन पनि आए । ऋण खाएर तिर्दिनँ भन्न नि पाइने । ऊ बेला भए ऋण खाएर नतिर्नेले त अनुहार देखाउन पनि लजाउँथे । टाढाटाढा भाग्थे । तर अहिले केको भाग्नु उल्टै दादागिरी चल्या छ ।
मनमनै भुतभुताउँदै हिँडेका हरिलठ्ठक बाजेलाई मुनि गणेश पुग्नासाथ दुईदर्जन पुलिसले घेरा हालिहाले । पुलिस र हरिलठ्ठक बाजे दुवै मुस्कुराउँदै । ‘हैन क्यारेका हौं । किन घेरा हालेका छौं,’ बूढा यता पुसिललाई सोध्दै छन् । उता क्यामरा तेर्साएर पत्रकार÷युट्युबर हरिलठ्ठक बाजेलाई सोध्दै छन्– कहाँ जान लाग्नु भाको ? ‘जान त साइँलाकी छोरीको लगन जुराउन जान लागेको । तर खै कहाँ हिँड् भन्छन् यिनीहरु ।’ दुई–चार जना पत्रकार वरिपरि छन्, प्रहरीले हरिलठ्ठकको हातमा समाइहाले । ‘ए जाने भन्या होइन !’
‘होइन हउ कता लान लाग्या छौं । म यता जाने होइन हउ उता जाने हो ।’ पूर्वेली लवजमा हरिलठ्ठक बाजे कराउँछन् । ‘हो हो उतै जाने हो ।’ बूढा र पुलिसको हाँसोसहितको दृश्यले पत्रकार नै दंग । दुई मिनेटजति बाजे के हिँडेका थिए । छ सात जना पुलिसले जुरुक्क उठार बाजेलाई भ्यानमा छिराइहाले । विचरा बूढा चुँइक्कसमेत बोल्न पाएनन् ।
किन पुलिसले समात्यो किन भ्यानमा कोच्यो पत्तै छैन ! बाजे घरबाट निस्कँदा छोरालाई अल्लारे भनेर सम्झाउँदै थिए । बूढालाई बाटोमा पुलिसले नै अल्लारेभन्दा बढी बनाइदियो । बाजे कराउँछन्, ‘होइन होउ छाड्देऊ न उता बिहेको कुरा पो छ त । किन समात्यो मलाई पनि त्यही ऋण नतिर्ने भन्ठानेउ कि क्या हो । होइन होउ होइन ।’
बाजेको कुरा पुलिसले के सुन्थे र !
बाजेको दाहिने समातिरहेको एउटा पुलिसले प्वाक्क बोलिगो । ‘नकराउनुस् के । आज दौरा सुरुवाल, ढाकाटोपी लगाएर यो बाटामा हिँड्ने सबलाई समात्ने आदेश छ ।’यो आदेश भन्ने जात पनि कस्तो । ढाकाटोपी र दौरा सुरुवालदेखि पनि डराउनुपर्ने । यही नेपाली टोपीले विश्वको जुन कुनामा पुगे पनि पहिचान आपैmं देखाइदिन्छ । तर, नेपालाँ टोपी र दौरा लगाउनेलाई अपराधीझैँ समातेर कोचेको छ ।
को कहाँ जान हिँडेको छ, उसको व्यक्तित्व के हो मतलव नै नगरी झ्याप्प झ्याप समातेर पनि हुन्छ कतै । देशको पहिचानमाथि पहिचान विरोधीहरुले संघर्ष गरे जस्तै पो देखियो त । बूढा अक्क न वक्क परे । ‘कामकुरो एकातिर कुम्लो वोकी ठिमीतिर’ भने जस्तै भो । बूढाले खल्तीबाट टिकटिके मोबाइल निकाले । यसो नम्बर दाब्न खोज्दा पुलिसले त्यो पनि कब्जा गरिदिन्छ । बूढाले जीवनमा पहिलोपटक पुलिसको संगत गर्न पाएका रै’छन् नि क्या हो कुनै अनूभूति नै छैन ।
हुन पनि मंसिर महिना । बिहेको लगनको महिना । यही मौकामा भएको आन्दोलनमा आउने सम्भावना भएका अधिकांश ढाकाटोपीवाला त्यही भएर बल्खुमा तीर हान्दा तीनकुनेसम्म त्यस्तो भो समस्या । सरकारले नै ढाकाटोपी लाको देख्नै नहुने भएछ । दौरा सुरुवाल र ढाकाटोपी लगाउनेलाई च्याप्पै समात्ने उर्दी जारी भएछ । त्यही उर्दीमा परे छन् हरिलठ्ठक बाजे पनि । ‘खाइ न पाइ छालाको टोपी लाइ’ भन्थे कुनै बेला, त्यस्तै भो । ढाकाटोपी यतिखेर प्रतिबन्ध भो ।
हरिलठ्ठक बाजेले न घरमा खबर गर्न पाए, न त साइँलाकी छोरीको लगन नै देख्न पाए । आजकलको आन्दोलनले टोपी र दौरा सुरुवाल लाउनेहरुले अनावश्यक दुःखमात्र भए । ‘मेरो टोपी कैलाशको शिर जस्तो’ भनेर गोपाल योञ्जनले गीत गाउने दिन गए । जय गणतन्त्र !