काठमाडौं– वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले कोरियाको उत्पादनमूलक क्षेत्रमा थप नेपाली श्रमिक पठाउन भाषा परीक्षाका लागि आवेदन माग गर्ने तयारी गरेको छ । कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा श्रमिक अभाव देखिएको भन्दै माग भएबमोजिम एक हप्ताभित्र भाषा परीक्षा आवेदन आह्वान गर्ने तयारी गरेको हो ।
एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रमा श्रमिक लैजाने गरी भाषा परीक्षाका लागि आवेदन माग गर्न आग्रह गरेको इपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले बताए । ‘केही समय अघिदेखि कोरियाले नेपालबाट लैजाने श्रमिकको संख्या बढाउँदै लगेको छ,’ उनले भने, ‘साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको भन्दै भाषा परीक्षाका लागि यसै हप्ता आवेदन माग गर्न आग्रह भएको छ ।’
कोरियाले हाल कृषि, उत्पादन र शिप बिल्डिङका क्षेत्रमा नेपाली श्रमिकको माग गर्दै आएकोमा अब निर्माण र सेवा क्षेत्रमा पनि नेपालीलाई रोजगारीको अवसर दिने तयारी गरेको निर्देशक सुवेदीले बताए । ‘यसअघि कोरियाले नेपालबाट कृषि र उत्पादन क्षेत्रमा मात्र नेपाली श्रमिकको माग गर्दै आएकोमा केही अघिदेखी शिप बिल्डिङमा समेत माग गर्न थालेको छ,’ उनले भने ।
इपिएस शाखाले सोमबार मात्रै शिप बिल्डिङका लागि भाषा परीक्षा दिएका परीक्षार्थीमध्ये चार हजार ९८ जना उत्तिर्ण भएको नतिजा सार्वजनिक गरेको छ । उनीहरुले पुनः स्किल टेस्ट परीक्षा पास गर्नुपर्ने छ । परिक्षा यही मंसिर २४ गते देखि २८ गतेसम्म हुने शाखाले जनाएको छ । उत्पादनमूलक क्षेत्रका लागि कोटा निर्धारण नभएपनि यसअघि शिप बिल्डिङका लागि भाषा परीक्षामा सामेल भएका परीक्षर्थीले भने आवेदन दिन नपाउने बताइएको छ । हाल उत्पादनमूलक क्षेत्रमा थप नेपाली श्रमिक लैजाने गरी भाषा परीक्षाका लागि आवेदन माग गर्न लागिए पनि कृषि क्षेत्रमा जाने कामदारको सूची अझै रोस्टरमै रहेका कारण अहिले नै आवेदन खुल्ने संभावना नरहेको निर्देशक सुवेदीले बताए ।
पछिल्लो समय कोरियामा श्रमिकको अभाव बढ्दै गएपछि स्थानीय श्रमिक र दक्ष विदेशी श्रमिकका लागि मात्रै आरक्षण गरिएका सेवा तथा निर्माण क्षेत्रमा पनि नेपालीको माग गर्न थालिएको छ । यसका लागि कोरियाले सेवा तथा निर्माण क्षेत्रमा विदेशी श्रमिकले रोजगारी गर्न नपाउने कानुनी प्रावधानलाई संशोधन गरेर इपिएसअन्तर्गतका श्रमिकलेसमेत काम गर्न पाउने व्यवस्था गरिएको छ ।
कोरियाले २०२४ का लागि एक लाख ६५ हजार कोटा निर्धारण गरी ईपीएसअन्तर्गत विदेशी श्रमिक माग गर्ने निर्णय गरेको छ । गत हप्ता कोरियाको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले उक्त कोटा निर्धारण गरेको हो । कोटा अनुसार उत्पादनमूलक क्षेत्रमा ९५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा १६ हजार, शिप बिल्डिङमा पाँच हजार, निर्माण क्षेत्रमा छ हजार, सेवा क्षेत्रमा १३ हजार र अन्य विविध क्षेत्रमा ३० हजार विदेशी श्रमिक आपूर्ति गरिने बताइएको छ ।
कोरियामा विभिन्न १६ देशबाट इपिएसमार्फत श्रमिक लैजाने गरिन्छ । जसमध्ये कोरियाली रोजगारदाताले नेपाली श्रमिकलाई बढी रुचाएका कारण आगामी दिनमा नेपालबाट जाने श्रमिकको संख्या उल्लेख्य बढ्ने शाखाको पछिल्लो तथ्यांकले देखाएको छ ।