काठमाडौं – वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ घर भएकी ६४ वर्षीया शान्ति श्रेष्ठ र उनका छोरा ३६ वर्षका विशाल श्रेष्ठ छन् ।
उनीहरुले अमेरिका जान ४० लाख रुपैयाँ लाग्ने भन्दै पीडित चन्द्रबहादुर रावलसँग पटक–पटक गरी १५ लाख रुपैयाँ लिएर ठगी गरेको प्रहरीले जनाएको छ । अमेरिकाको एक प्रतिष्ठित कम्पनीमा मासिक तीन लाख रुपैयाँभन्दा बढी तलब हुने गरी काम लागाइदिने प्रलोभनमा पारी रकम लिएर फरार रहेको अवस्थामा श्रेष्ठद्वयलाई पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ । उनीहरुलाई खोजतालासका क्रममा बानेश्वरबाट पक्राउ गरिएको बताइएको छ । दुवै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।
पीडितबाट पटक–पटक गरी रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा वैदेशिक रोजगार विभाग काठमाडौंले उनीहरुलाई पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका आमाछोरा दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।