मुलुकको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धर्मनिरपेक्षताबारे सल्लाह गर्न सकिने बताउँदै राजनीतिमा किचलो ल्याउने संकेत गरेका छन् । कांग्रेसकै नेतृत्वमा देश संघीयतामा जाँदा धर्मनिरपेक्ष राष्ट्र बनेको थियो । तर, अहिले संघीयताको मर्मअनुरुप कानुन नबन्दा व्यवस्थाप्रति प्रश्न उठ्न थालेको बेला शीर्ष नेताले हिन्दु राष्ट्रको पक्षमा लबिइङ गरेको हो । कांग्रेसको एउटा खेमा जसरी पनि हिन्दु राष्ट्र हुनुपर्ने भन्दै चर्को आवाज गरिहेका छन् ।
संघीयता अहिले कार्यान्वयनका चरणमा छ । यस्तो बेला केही व्यक्तिले मुढेबलका आधारमा व्यवस्था नै फेरौं भनी नारा लगाउँदा प्रमुख दलका शीर्ष नेताले विचार गरेर बोल्नुपर्ने हो । तर, जता हावा चल्छ, त्यतै पात हल्लेझैँ देउवाले धर्मनिरपेक्षताबारे सोच्न सकिने बताउनु सरासर गैरजिम्मेवार अभिव्यक्ति हो ।
यसले अबका दिनमा राजनीतिक विवाद सिर्जना हुने पक्कै निश्चित छ । नेपाललाई हिन्दु राष्ट्रको परिचय दिएर सांसरभर चिनाउने एकथरी नेताहरुको दाबी छ । तर रिलेजिअस आइडेन्टीले मात्र देश बन्दैन । यसका लागि शान्ति र अमनचयन कायम हुनुपर्छ । नेपाली पहिल्यैबाट धार्मिक सहिष्णुता कायम गर्दै आएको भूमि हो ।
केही धर्म प्रचारका विषयमा असन्तुष्टि हुनु बेग्लै कुरा हो, तर व्यवस्था नै फेरिने गरी यस विषयमा मुद्दा उठाउनु भने जायज हुन्न । धर्मको विषयमा व्यवस्था उल्टँदा पूर्वमा किरात धर्मदेखि पश्चिममा बौद्धमार्गीसम्मले यस विषयमा असन्तुष्टि जनाउन सक्छन् । जसले गर्दा देशमा धार्मिक द्वन्द्व हुन सक्ने खतरा छ । त्यसैले कुनै मुलुकको दबाबमा परेर वा आफ्नो नातेदारको पद सुरक्षित हुनेगरी यस्तो विषयमा मत राख्नु ठीक हुन्न । नेताले चाहेर व्यवस्था परिवर्तन हुने होइन ।
जनताले लामो समय संघर्ष गरी प्राप्त गरेको व्यवस्था नै उल्टाउने गरी केही नेता कोठामा बसेर व्यवस्था परिवर्तनको सवालमा बोल्नु झनै सही हैन । जनताले चाहेको धर्मका कुरा र शासन होइन, अहिले जनताले चाहेको सुशासन हो । विकास हो । गाउँमै रोजगारी हो । आर्थिक समृद्धि हो । तर नेताहरुले दिशा दिन नसक्दा अहिले आर्थिक अवस्था ओरालो लाग्दो छ । रोजगारी नपाउँदै दैनिक विदेशिनेका लर्को लागेको छ ।
गुणस्तरीय शिक्षा दिन नसक्दा युवा विद्यार्थी विदेश लागिसकेका छन् । विकासको नाममा ठेक्कापट्टका कारण हुने भ्रष्टाचारको विषय कहालीलाग्दो छ । हो यस्तो विषयमा दिशानिर्देश गर्ने हो शीर्ष नेताले, धर्म र जातीय कुरा गरेर जनता जुधाउने हैन ।