चिसोले अहिले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको अवस्था जर्जर बनेको छ । सरकारदेखि राजनीतिक दलले आफूहरुले थुप्रै टहरा÷घरहरु निर्माण गरेको दाबी गरिरहे पनि भूकम्पपीडितले राहतको सास फेरेको सुनिँदैन । भूकम्पमा ज्यान जोगाएकाहरु चिसोका कारण धमाधम मृत्युवरण गर्दै छन्, मृत्युको आकडाले सरकार र दलहरुको मिडियाबाजी पुष्टि गर्दैन ।
सुत्केरीको मृत्यु भएको छ । चिसोकै कारण १५ जनाको मृत्यु भएपछि राजधानीमा राहत र टहरा निर्माण गरेको होहल्ला गर्ने नेपाली कांग्रेसले सरकारलाई चाँडोभन्दा चाँडो राहत रकम उपलब्ध गराउन माग गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारले उपलब्ध गराउने भनेको ५० हजार रुपैयाँ राहत तत्काल र एकमुष्ठ दिन अनुरोध गर्ने निर्णय गरेको हो । जबकि कांग्रेस आफैं सत्तामा छ ।
१७ कात्तिकको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ६२ हजार घर भत्काएपछि यहाँका बासिन्दा घरबाहिर त्रिपालमुनि बस्दै आएका छन् । मंसिरको चिसोमा त्रिपालले थेग्न नसकेपछि भूकम्पपीडित बिरामी पर्न थालेका छन् । दुई जिल्लामा अहिलेसम्म १५ जनाले ज्यान नै गुमाएका छन् । जाजरकोटमा १२ र रुकुम पश्चिममा तीनजनाले चिसोका कारण ज्यान गुमाएका हुन् । सरकारले बुधबार बिहानै जजारकोट केन्द्रबिन्दु भएको भूकम्पबाट प्रभावितलाई अस्थायी आवास निर्माणका लागि सुरक्षा निकायलाई परिचालित गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयले झन् प्रस्ट्याउँछ दलहरुको फगत प्रचार ।
जाजरकोट भूकम्पले १५४ जनाको ज्यान लियो । भूकम्पको भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल क्षतिग्रस्त क्षेत्रमा पुगेकोले नागरिकमा एकप्रकारको राहत महसुस भएको थियो । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल, मन्त्रीहरु, प्रमुख राजनीतिक दलका नेताहरु त्यहाँ पुगे । केन्द्रीय नेताहरुले टहरा बनाइरहेका समाचार पनि छपाए । तर सरकार त्यहाँ अझै पुग्न सकेको छैन । सरकारले राहत पनि एकद्वार प्रणालीमार्फत वितरण गर्ने निर्णय गरेको छ । २०७२ सालको भूकम्पमा वितरण भएको राहतबाट पाठ सिकेर हुनुपर्छ सरकारको यो निर्णयलाई धेरैले मन पनि पराए । तर विपद् कोषमा करोडौं हुँदा र अहिले पनि करोडौं राहत रकम उठिसक्दा पनि सरकारले प्रभावित दुई जिल्लामा काम गर्न सकेको छैन ।
राज्यलाई नक्कली भूकम्पपीडितको डर हुनसक्छ । तर सरकार यस्तै घटनाबाट चिनिने हो कतिको प्रभावकारी छ भन्ने कुरा । आफ्नै नागरिकको सही तथ्यांक राख्न नसक्दा सरकार जहिल्यै कार्यसम्पादनमा चुक्ने गर्छ । भूकम्पबाट बचेकाको पनि ज्यान गइरहेको छ । सरकार अब चिसोबाट नागरिकको ज्यान गइरहँदा टुलुटुल हेरिबस्ने हैन, राज्यकोषमा भएको रकम निकालेर भूकम्पपीडितको घाउमा चाँडो मलहम लगाइदेऊ ।