काठमाडौं–रुसी सेनामा संलग्न रहेका नेपालीको मृत्यु भएको घटनाबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ । उक्त घटना सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो ।
रुसी सेनामा संलग्न नेपाली कुन माध्यमबाट रुस पुगे र सेनामा भर्ना भए भन्ने सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले उपसचिव दीपक ढकालको संयोजकत्वमा वैदेशिक रोजगार शाखाका अधिकृत धनञ्जय यादव र कानुन अधिकृत उषा गौतम सदस्य रहेको अध्ययन समिति गठन गरेको जानकारी दिएको छ ।
आवश्यक अध्ययनका लागि समितिलाई १५ दिनको समय दिइएको छ । मन्त्रालयले विशेषतः रुसी सेनामा नेपाली पठाउने भूमिका निर्वाह गर्नेहरुको पहिचान र वैदेशिक रोजगारसम्बन्धी अनधिकृत गतिविधिमा सक्रिय व्यक्तिहरुको खोजी गर्ने लक्ष्यका साथ अध्ययन समिति गठन गरेको बताइएको छ ।
यसको सत्यतथ्य समितिले १५ दिनपछि दिने प्रतिवेदनबाट थाहा पाइने मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार विभिन्न शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) र ट्राभल एजेन्सीको माध्यमबाट रुस जाने नेपालीहरुको संख्या धेरै छ । यसरी जाने नेपालीहरु रुसी सेनामा भर्ना हुने र रुस–युक्रेन युद्धमा सहभागि हुने गरेको पाइएको छ ।
रुसी सेनामा संलग्न स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलियाको मृत्यु भएको समाचार सार्वजनिक भइसकेपछि उनीहरु कसरी रुस पुगे त्यसको अध्ययन जरुरी भएको मन्त्रालयले जनाएको छ । यद्यपी यस विषयमा नेपाल सरकारले कुनै प्रतिक्रिया जनाइसकेको छैन ।
मन्त्रालयले गठन गरेको समितिलाई अनधिकृत रुपमा वैदेशिक रोजगारसम्बन्धि कार्य गर्ने कन्सल्टेन्सी र ट्राभल एजेन्सीहरुमाथि पनि अध्ययन गर्ने जिम्मेवारीसमेत प्रदान गरिएको छ । त्यस्तै बन्देज लगाइएका मुलुकमा अवैधरुपमा घरेलु महिला कामदार पठाउने गिरोह तथा म्यानपावरहरुको पहिचान गर्न पनि अध्ययन समितिलाई अधिकार दिइएको छ । पछिल्लो समय खाडी मुलुक साउदी, कतार, कुवेतमा विभिन्न बाटो प्रयोग गरी अवैधरुपमा घरेलु महिला कामदार पठाउने गरेको पाइएको छ ।