पुराना राजनीतिक दलको आसेपासे प्रवृत्तिको चर्को विरोध गर्दै टेलिभिजनको पर्दाबाट छाएका नेता हुन् रवि लामिछाने । जनताका समस्यामा सरकारी संयन्त्रविरुद्ध खरो उत्रने उनका हरेक अभियानमा जनताले साथ दिन्थे । सामाजिक सञ्जालबाटै हाइहाइ मिलेको लामिछानेले यही वाहवाहीबाट हौसिएर दलसमेत बनाए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो चुनावमै अभूतपूर्व सफलतासमेत पायो । प्रत्यक्ष र समानुपातिक गरी २० सिट लिएर देशकै चौथो शक्ति बनेर प्रतिनिधिसभा छिरेको लामिछानेको पार्टीलाई अग्रगामी सोच भएको दलको रुपमा हेरिन्थ्यो ।
लामिछानेको इन्ट्री संसद्मामात्र हैन सरकारमा पनि हेर्न लायक थियो । तर, पहिलो निर्वाचनबाट सीधै उपप्रधान तथा गृहमन्त्रीको चाबी पाएका उनी लामो समय सरकारमा टिक्न सकेनन् । कारण बन्यो नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको । व्यवस्थाविरुद्ध नारा उरालेर चर्चामा आएका लामिछाने त्यसपछि विस्तारै सेलाउन थाले । मन्त्री बन्नका लागि घुस मागेको आरोप उनीमाथि लाग्न थाल्यो । जसकारण डा. ढाकाकुमार श्रेष्ठको सांसद पदसमेत खोसे उनले । यी घटनाका कारण आलोचित हुँदै आएको लामिछानेले पछिल्लो केन्द्रीय समिति विस्तारमा झनै अनुदार देखिएका छन् । लामिछानेले योग्यता र योगदानलाई भन्दा पनि आफ्ना आसेपासेलाई पदाधिकारीको पद दिलाएका छन् ।
१३ सदस्यीय पदाधिकारीमा निकट विपिन आचार्यलाई सहमहामन्त्री, दीपक बोहरालाई सहकोषाध्यक्ष तथा रमेश प्रसाईं र प्रतिभा रावललाई सहप्रवक्ताको जिम्मेवारी दिएका छन् । चारैजना लामिछानेले पार्टी गठन गर्नुअघि काम गर्ने न्युज २४ टेलिभिजनका सहकर्मी हुन् । बोहरा र आचार्य लामिछानेका विश्वासपात्र हुन् । बोहरालाई अझै माथिल्लो पद दिने लामिछानेको तयारी रहे पनि थप आलोचित हुने डरले सहकोषाध्यक्षमात्र बनाएको आरोप उनकै पार्टीका नेताहरुले लगाएका छन् । यसैगरी प्रसाईंसँग पनि लामिछानेको पछिल्लो निकटता रहँदै आएको छ । संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका मनिष झालाई सहमहामन्त्री बनाइए पनि आचार्य र बोहरालाई मर्यादाक्रममा माथि राखिनुले पनि लामिछानेको नातावाद प्रस्ट पार्छ ।
सुरुदेखि नै उपसभापति रहेका डिपी आर्याल लामिछानेकै विश्वासपात्र हुन् । संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्दै अर्का सांसद सन्तोष परियार र विराजभक्त श्रेष्ठलाई पार्टीमा केन्द्रीय सदस्यमात्र दिइएको छ । सन्तोष र विराजभक्त दुवै यसअघि पार्टीको संसदीय दलको प्रमुख सचेतक र उपनेता हुन् । यसैगरी कांग्रेस छाडेर तनहुँ क्षेत्र २ मा होमिएका अर्थविद् स्वर्णिम वाग्लेलाई पनि लामिछानेले सीधै उपसभापति पद दिएका छन् । पुरानो दलको विरोध गरेर शक्ति जमाएका लामिछाने अहिले पुरानै दलको कित्तामा उभिँदा उनले सम्झनैपर्ने कुरा हो, हिजोको जनाधार । लामिछानेज्यू, यसरी भुसुक्कै जनाधार बिर्सेर नयाँ शक्तिको खोल कतिञ्जेल ओडिरहने ?