काठमाडौं- नेपाल तामाङ घेदुङको महासचिवमा हालै मनोनित जगतमान दोङले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार दोङलाई घेदुङका संघीय अध्यक्ष मोहन गोलेले शपथ ग्रहण गराएका हुन् । यसअघिका महासचिव काजीमान तामाङले राजीनामा दिएपछि रिक्त पदमा दोङलाई मनोनित गरिएको हो ।
मंसिर ९ र १० गते नुवाकोटको बट्टारमा भएको घेदुङ संघीय कार्यसमितिको बैठकले दोङलाई महासचिव पदमा मनोनित गरिएको घेदुङले जनाएको छ । घेदुङको विधान २०१३ आठौं संशोधनको दफा ३५ बमोजिम दोङ उक्त पदमा मनोनित भएका हुन् । बैठकले उपमहासचिवमा सरोजमोहन लामा उपमहासचिव, सचिवमा निर्मल बहादुर लामालाई मनोनित गरेको छ । त्यसैगरी मित्रसेन योञ्जनलाई विभागीय प्रमुख र रामभक्त बम्जनलाई सचिवालय सदस्यमा मनोनयन गरिएको घेदुङले जनाएको छ । महासचिव दोङसहित पाँचै जनाले शुक्रबार शपथ ग्रहण गरेको घेदुङका सञ्चार तथा प्रकाशन विभाग प्रमुख तिर्थमान वल तामाङले जनाए ।
बट्टार बैठकले पुस मासन्तभित्र कार्यकाल सकिएका आफ्ना ६ वटा भ्रातृ संगठन तथा प्रदेश कार्यसमतिहरुको अधिवेशन आगामी चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिने निर्णय पनि गरेको छ । यसका साथै संस्कृति प्रवद्र्धन तथा ताम्सालिङको अभियानको रुपमा यो पटक पनि भव्य रुपमा सोनाम ल्होछार मनाउने, यस आर्थिक वर्षभित्र कम्तीमा ५ वटा स्थानीय तहहरुमा तामाङ भाषा तथा लिपि एवं शिक्षा अभियान सञ्चालन गर्ने निर्णय गरेको महासचिव दोङले जानकारी गराए ।