काठमाडैं– ‘पहिले यहाँका मानिस तँलाई तातो ढिँडो खाएर १२ बजेको घाममा पारिको उकालो चढ्नुपरोस् भनेर गाली दिन्थे रे’ मनबहादुर दाइले पुरानो कुरा सुनाएपछि मेरो सातोपुत्लो उड्यो । सिक्लेसमा भर्खरै तात्तातो खाना खाएका थियौँ र समयको घडी पनि १२ बजाउने तरखरमै थियो । मनमनमा त्यही गालीकै हालत हुने होकि भन्ने लाग्यो । आँखै अगाडि झरुवापाटाको उकालो याद आयो । कहिलेकाहीँ खाना खाँदाखाँदै हाम्रो घरमाथिको झरुवापाटाको उकालो हिँड्नुपथ्र्यो, असिनपसिन हुन्थ्यो । ऊ बेला आमाले औडाहा उठ्यो भन्नुभएजस्तै हुने हो कि भन्ने त्रासले छोयो ।
पहिलेपहिले सिक्लेसका बुढापाकाहरु कसैलाई गाली दिनुपर्यो भने तातो ढिँडो खाएर १२ बजेको घाममा ओरालो उकालो चढ्नुपरोस् भन्थे रे । सिक्लेस परको मत्क्युँ खोला तरेपछि आउँछ त्यो उकालो । धेरै भयो नहिँडेर काठमाडौँमै कुजिएर बसेको । सहरको प्राविधिक व्यस्ततामा भौतिक शरीर प्रायः चलमल नगर्दा पनि हुने । त्यसकारण कुजिएको छ शरीर । खाना खाएर हिँड्ने तयारीका लागि जुत्ताका तुना कस्दै थिएँ । सबै साथीहरु ठमठम हिँडेर पहाडको टुप्पोमा पुग्दासम्म पनि म फेदमै लत्रिएँ भने के होला ? अब खुट्टा दह्रो बनाउने समय छैन, मन चाहिँ बलियो बनाउन थालेँ ।
कास्की–१ का सांसद मनबहादुर गुरुङको यात्राभरिको नाम ‘माननीय’ ज्यू हो । हामीले भनेको सुनेर यात्राका अरु पर्यटकले पनि उहाँलाई माननीयज्यू नै भने । मलाई लाग्छ ‘टिन एजर’ सबैले यो शब्दको अर्थ बुझेका भने छैनन् । यो पुस्ताले राजनीतिमा खासै चासो दिन छोडिसकेको छ । उनीहरुको धेरै चासो अहिले विदेश र सामाजिक सञ्जालतिरै छ ।
सिक्लेसबाट सुरु भयो हाम्रो यात्रा । यात्राका ११ जनाको समूहले यहाँको स्थानीयता, भौगोलिक अवस्था, प्रकृति र पर्यावरणदेखि धेरै कुरा मनबहादुर दाइले हामीलाई ‘गाइड’ गरे । सिक्लेसको गुरुङ बस्ती, यस समुदायको संस्कार र अन्नपूर्ण संरक्षण क्षेत्रका धेरै विषयमा उनले हामीलाई जानकारी पनि गराए । यात्रामा उनलाई पाउँदा हामी निकै लाभान्वित भयौँ । छ दशक अघि नै ‘सिक्लेस–तसा–कोरी रुट’ टोनी ह्यागनले पत्ता लगाएका रहेछन् । त्यसो त उनले नचिनाएको नेपाल र उनी नपुगेका यहाँका कुनाकाप्चा कमै होलान् । हामी ऐतिहासिक बाटो हिँड्दैछौँ भन्ने लाग्यो । त्यस्तै आधाघन्टा हिँडेपछि ओरालो सुरु भयो खोलासम्म । खोला तरेपछिको उकालोले हामीलाई लगभग भोलिपल्ट साँझसम्म नै पछ्याउने पक्कापक्की थियो ।
विस्तारै अघि बढ्यौँ ट्रेकिङका लागि । स्पोर्टस् जुत्ता कस्यौँ, हातमा लौरो । झोला बोक्न भने दुई जना भाइको प्रबन्ध गरेका थियौँ । वास्तवमा बँधुवा भैँसीका खुर पलाएझैँ पलाएको छ हामी सहरियाको पेट । खानपिन धेरै तर उठ्बस र हिँडडुल कम । त्यसैले सहरमा पुट्ट पेट ननिस्किएको मान्छे भेट्न मुस्किल पर्छ । ठूलो पेटलाई डाक्टर रोगको घर भनिरहेका छन्, थाहा छ । तर हामीहरु रोगको घरै बोकेर हिँड्ने धेरै छौँ । कम खान मान्दैनौँ अनि गाडी सुविधा पाए पनि कहिलेकाहीँ हिँड्नु पनि पर्छ भन्ने ठान्दैनौँ । आज पनि सिक्लेसको स्थानीय मासको दाल र स्थानीय चामलको स्वाद जिब्रोले छोड्न मानेन । सागको स्वादको त झन कुरै भएन । टन्न खाएरै उकालो ताक्ने तयारीमा छौँ । तात्तातो घाममा तातो भातसँगै उकालो ।