- पीडित तर्फका वकिलहरूको मुद्दामा प्रत्युत्तर बहसपछि आदेश आउने
- मुद्दामा अन्तर्राष्ट्रिय समुदायको विशेष चासो
- घटनामा नवराज विक, सञ्जु विक, गणेश बुढा, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीको हत्या
काठमाडौं– कर्णाली प्रदेशको रुकुम पश्चिममा पर्ने सोती गाउँमा आफ्नी ‘उच्च जातीय’ प्रेमिकाको घर जाने क्रममा २१ वर्षीय नवराज विकसहित छ जनाको हत्या घटनासम्बन्धी मुद्दामा आज आदेश आउँदै छ । उच्च अदालत सुर्खेतका प्रवक्ता अरुणकुमार कोइरालाले पीडिततर्फका वकिलहरूको मुद्दामा प्रत्युत्तर बहसपछि आदेश आउने बताए । उनका अनुसार पीडित तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितका वकिलहरूले आज प्रत्युत्तर बहस गर्ने छन् । प्रत्यर्थीतर्फका वकिलहरूको बहस यसअघि नै सकिएको छ ।
सोती घटनालाई जातीय नरसंहारको रूपमा लिने गरिन्छ । घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले चासो राखेको छ । संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले पीडितहरूले न्याय पाउनुपर्ने भन्दै न्यायालयबाट अन्याय नहुने विश्वास व्यक्त गरिसकेको छ । तर, नेपालमा जातीय विभेद र हिंसासँग जोडिएका अपराधमा दण्डहीनता उच्च रहेको भन्दै निष्पक्ष छानबिनको माग गरेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले पनि घटना क्रुर र जातीय हिंसायुक्त घटना भएको भन्दै दोषीलाई कानुनअनुसार कारबाही हुनुपर्ने जनाइसकेको छ । संसदीय विशेष समितिले पनि जातीय भेदभावले प्रेरित भएर घटना गराएको औंल्याइसकेको छ । घटनामा संलग्न जो कोहीलाई कानुनअनुसार कारबाहीको माग समितिले गरेको छ । माओवादी सांसद देवेन्द्र पौडेल नेतृत्वको उक्त समिति सदस्यहरूमा तत्कालीन सांसदहरू एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला विक, महेश्वरजंग गहतराज, मिनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव थिए ।
घटना १० जेठ २०७७ मा भएको हो । घटनामा मारिनेमध्येका नवराज आफ्ना २९ जना साथीहरूसहित प्रेमिका लिन भन्दै सोती गाउँमा गएका थिए । यसपछि प्रेमिकाका बुबाआमासँगै गाउँलेहरूले लखेटी लखेटी उनीसहित छ जनाको हत्या गरेका थिए । हत्या गरिएकामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सञ्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनार र भेरी नगरपालिका–११ का गोविन्द शाही थिए । उनीहरू सबैको शव भेरी नदीमा फेला परेको थियो । उनीहरूको परिवारले भने नवराजसहित छ जनाको हत्या गरेर शव नदीमा फालेको दाबी गर्दै आएका छन् ।
घटनामा मारिएकाको परिवारलाई सरकारले राहतस्वरूप १० लाख रूपैयाँ दिएको थियो । घटनामा अन्य १२ जना घाइते भएका थिए ।दलित अभियन्तासमेत रहेका समाजशास्त्री डा. मित्र परियारले आजको दिनलाई निकै महŒवका साथ हेरिने बताएका छन् । ‘यो मुद्दामा पीडित परिवारहरूको प्रमुख सरोकार त रहने नै भयो । सम्बन्धित गाउँलेहरूको, समग्र दलित समुदायको मात्रै पनि होइन, सम्पूर्ण न्यायप्रेमी नेपालीहरूको समेत व्यापक चासो र चिन्ता छ,’ उनले भनेका छन्, ‘अलिकति पनि मानवीय भावना भएका मानिसले न्यायको कामना गरिरहेका छन् ।’
घटनामा प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछूत तथा भेदभावको कसुर र एकजनालाई मतियारको रूपमा मुद्दाको अभियोजन गरेको थियो । तर, सबैजना पक्राउ परिसकेका छैनन् । पाँचजना प्रतिवादी फरार छन् ।
घटनामा मारिएकाहरूलाई सामाजिक रुपान्तरकोण सहिद घोषणा गर्न माग भएको थियो । यस्तो माग कांग्रेसकी तत्कालीन सांसद विमला नेपालीले गरेकी हुन् । तर, उनीहरूलाई सहिद घोषणा गरिएको छैन । दलित र गैरदलित गरी छ जनाको हत्या भएको घटनालाई लिएर पूर्वप्रधानमन्त्री डा.. बाबुराम भट्टराई सडकमा आएका थिए । मारिएका छ जना युवकका आमाहरू न्यायका लागि भन्दै काठमाडौं आएकी थिइन् । तत्कालीन सत्तारूढ नेकपा र विपक्षी कांग्रेसलगायत दलका सांसदहरूले घटनाप्रति दुःख व्यक्त गर्दै पीडितहरूलाई न्याय दिनुपर्नेमा सरकारमाथि दबाब बढाएका थिए । घटना गराउनेमा वडाध्यक्षसहितका मानिसहरू संलग्न देखिएका थिए ।