काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुले पुस मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै यसअघि कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकृत भएका स्वास्थ्य संस्थाहरुलाई पुस १ गतेदेखि मसान्तसम्म सूचीकरण नवीकरण गरिसक्नुपर्ने उल्लेख गरेको छ ।
स्वास्थ्य परीक्षणका लागि मन्त्रालयमा सूचीकृत भएका संस्थाहरुले नवीकरण दस्तुर १५ हजार रुपैयाँ बुझाउनुपर्नेछ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ र नियमावली, २०६४ को निमय ४५ (क) अनुसार वैदेशिक रोजगारीका लागि जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरु अनिवार्य श्रम मन्त्रालयमा सूचीकृत गर्नुपर्ने व्यवस्था छ ।
सोही बमोजिम यसअघि सूचीकृत स्वास्थ्य संस्थालाई नवीकरण गर्न/गराउन मन्त्रालयले सूचना जारी गरेको जनाएको छ । संस्थाहरुले सूचीकरण नवीकरण भएको मितिले तेस्रो वर्षको पुस एक गतेदेखि पुस मसान्तसम्म तोकिएको दस्तुर बुझाइ पुनः नवीकरण गर्न पाइने मन्त्रालयले उल्लेख गरेको छ ।
स्वास्थ्य संस्थाले नवीकरणका लागि निवेदन दिँदा यसअघि सूचीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो वर्ष नवीकरण भएको भए त्यसको प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ । यसैगरी अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि, स्वास्थ्य मन्त्रालय वा अन्तर्गतबाट संस्था सञ्चालन स्वीकृतिको प्रमाणपत्र र नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ ।
नाम वा ठेगाना परिवर्तन गरेको भए सम्बन्धित निकायबाट त्यसको स्वीकृति प्राप्त गरेको पत्रको प्रतिलिपि पेस गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ । तोकिएको सर्तहरू पूरा नगरिएको खण्डमा स्वस्थ्य संस्थाको नवीकरण नहुने र कारोबार रोक्का गरिने मन्त्रालयले सम्बन्धित सबैलाई सूचित गरेको छ ।
मन्त्रालयले गत बिहीबार (१४ मंसिर) ‘वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२’ को पाँचौं संशोधन गरेपश्चात् उल्लिखित सूचना जारी गरेको हो । उक्त कार्यविधिअनुसार मन्त्रालयमा नयाँ सूचीकृत हुन चाहने स्वास्थ्य संस्थाले आवेदन दिने मितिसम्म कम्तीमा तीन हजार जना बिरामी परीक्षण गरेको र सञ्चालनमा आएको छ महिना पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।