काठमाडौं– वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।सर्बिया, माल्टा र क्रोएसियामा आकर्षक तलबसहितको रोजगारी लगाइदिने भन्दै पीडितबाट रकम लिएर फरार रहेको आरोपमा दीपेश बाँस्कोटा, लक्ष्मी श्रेष्ठ र भवानी बोहोरालाई प्रहरीले पक्राउ गरेको हो ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय बाँस्कोटाले तीनजनासँग सर्बिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख रूपैयाँ तलबमा प्याकिङको काम लगाइदिने भन्दै पटक–पटक गरी १७ लाख १७ हजार ३०० रुपैयाँ लिएर ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई खोजतालासका क्रममा सिमराबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै काठमाडौं बाफल बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–१ घर भएकी २९ वर्षीया श्रेष्ठले दुई जनासँग माल्टा पठाइ प्रतिष्ठित होटलमा मासिक एक लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै छ लाख आठ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको बताइएको छ । उनलाई बाफलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी ललितपुर लुभु बस्ने सिन्धुपाल्चोक घर भएकी ४६ वर्षीया बोहराले दुई जनालाई क्रोएसिया पठाइ प्रतिष्ठित कम्पनीमा मासिक एक लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै दुई लाख रुपैयाँ लिएर फरार रहेको अवस्थामा लुभुबाटै पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ ।
तीनै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो । पीडितबाट पटक–पटक गरी रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा वैदेशिक रोजगार विभाग काठमाडौंले पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।