काठमाडौं– वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर युद्धरत मुलुक रसिया जाने नेपालीको संख्या बढ्दो देखिएको छ । विगतका वर्षहरुमा रोजगारीका लागि रसिया जाने नेपालीको संख्या नगन्य मात्रामा भए पनि गत आर्थिक वर्ष २०७९/८० मा ३८६ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको चार महिनामा भने ७७ जनाले मात्रै रसिया जान श्रम स्वीकृति लिएका छन् ।
सामान्यतया युद्धरत मुलुकहरुमा श्रम स्वीकृति लिएर जानेहरु विरलै हुन्छन् । अन्यथा सरकारले नै त्यस्ता मुलुकहरुमा रोजगारीका लागि जान आफ्ना नागरिकलाई बन्देज लगाउँछ । तर एक वर्षभन्दा बढी समयदेखि युद्धमा होमिएको रसियामा भटाभट श्रम स्वीकृति लिएर नेपालीहरु गइरहेका छन् । आर्थिक वर्ष २०७७÷७८ मा नौ जनाले श्रम स्वीकृति लिएर रसिया पुगेका थिए । यस्तै आव २०७८÷७९ मा ८२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा देखिन्छ ।
विगतमा न्यून संख्यामा नेपाली नागरिक रसिया जाने गरेकामा रुस–युक्रेन युद्ध सुरु भएपछि जानेको संख्या बढ्दै गएको विभागकै तथ्यांकबाट पुष्टि हुन्छ । युद्ध लम्बिँदै गएपछि रसियाले विदेशी नागरिकलाई युक्रेनविरुद्धको युद्धमा सामेल हुन सेनामा भर्ना खुला गरेको विभिन्न माध्यमबाट सार्वजनिक भएसँगै नेपालीहरु व्यक्तिगत श्रम स्वीकृति लिएर रसिया प्रवेश गरी सेनामा भर्ना हुने गरेको आशंका गरिएको छ । यद्यपि श्रम स्वीकृति दिँदा तोकि आएको रोजगारदातासँग नै काम गर्छन् भन्ने विश्वासका साथ दिइने विभागका महानिर्देशक मदन दहालले बताए ।
‘श्रम स्वीकृति लिएर रसिया जाने नेपाली युवाहरुको सम्बन्धमा समस्या आइसकेपछि मन्त्रालयले बिहीबार समिति गठन गरेर अध्ययन सुरु गरिसकेको छ,’ उनले भने, ‘आगामी दिनमा सम्पूर्ण कागजात र रोजगारदाताको पृष्ठभूमि अध्ययन गरेर मात्रै श्रम स्वीकृति जारी गरिने छ ।’ युद्धरत मुलुक भए पनि अहिले नै नेपालीहरुलाई रसिया जान रोक लगाइहाल्ने सरकारको नीति नभएको बताइन्छ ।
स्वदेशमा रोजगारी नपाएका नेपालीहरु श्रम स्वीकृति लिएर मात्र नभई अवैधरुपमा रसिया जानेको संख्या पनि ठूलै रहेको जानकारहरु बताउँछन् । पछिल्लो समय नेपालीहरु रुसी सेनमा भर्ती भई युक्रेनविरुद्धको युद्धमा सामेल भएको भिडियो सामाजिक सञ्जालमा आइरहेको छ । विगतमा रुसी सेनामा नेपाली भर्ती भए÷नभएको यकीन नभए पनि रसिया–युक्रेन युद्धमा चारजना नेपाली मारिएको खबर सार्वजनिक भएपछि नेपाल सरकारको ध्यानाकर्षण भएको छ । यसबारे अध्ययन गर्न गत बिहीबारमात्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालको संयोजकत्वमा अध्ययन समिति बनाइएको छ ।
मन्त्रालयले उक्त समितिलाई रुसी सेनामा नेपाली पठाउन सहजीकरण गर्ने व्यक्ति र संस्थाको खोजी गर्ने जिम्मेवारीसमेत दिएको छ । रसिया–युक्रेन युद्धमा परी रुसी सेनामा भर्ती भएका स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलियाको मृत्यु भएको रसियास्थित नेपाली राजदूतावासले उल्लेख गरेको छ ।