चारदिने कोप–२८ कुम्भमेलामा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्केका छन् । प्रधानमन्त्री दाहालले दुबईमा आयोजित यो मेलामा जलवायु परिवर्तनका कारण तीन करोड नेपालीले विनागल्ती सजाय भोगिरहेको भन्दै छ मिनेटभन्दा बढी धारणा राखे । काठमाडौं फर्केपछि प्रधानमन्त्रीले आफूले यसपटक नेपालको मुद्दा प्रस्टसँग राखेको बताएका छन् । जलवायु परिवर्तनका कारण नेपालका हिमालहरुमा हिउँ पग्लँदो छ । पहाडमा पनि छिटफुटमात्र देखिने लामखुट्टे अहिले हिमालमा देखिन थालेका छन् । तराईमा फेला पर्ने गोमन सर्प हिमाली जिल्लामा पुगेका छन् ।
तेल उत्पादन गर्ने राष्ट्रहरुका कारण अहिले विश्वव्यापी तापमान बढ्दो छ । इन्धन प्रयोगका कारण विश्व उष्णीकरण गराउने हरित गृह ग्यासहरु उत्सर्जन हुन्छन् । यही कारण नेपालजस्तो विकासोन्मुख देशको वातावरण बिग्रँदो छ । यसपटक प्रधानमन्त्री दाहाल कोप–२८ मा भाग लिन जाँदा निर्धक्क देखिन्थे । ‘हामी माग्न जाने होइन, अधिकारबारे कुरा राख्ने हो’ भन्दै दाहाल दुबई प्रस्थान गरेका थिए । दाहालले यसपटक किन ढुक्क थिए भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण । गुटेरेसले भ्रमणको क्रममा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे जानकारी लिएकाले पनि कोप–२८ आफ्ना कुरा प्रभावकारी ढंगबाट राख्न सहज भएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
नेपालले जलवायु परिवर्तनबारे आवाज उठाउन थालेको अहिले होइन, १५ वर्षअघि बाटै हो । जलवायु न्युनीकरणका लागि सहयोग पाउनु नेपालको लागि युद्ध जितेसरह हो । तर चीन, अमेरिकालगायत देश यसको पक्षमा छैनन् । सन् २००९ मै धनी राष्ट्रहरुले नेपालजस्ता देशलाई १०० अर्ब डलर बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर यससम्बन्धी सहयोगमा धनी राष्ट्रहरुको कुनै चासो छैन । महŒवपूर्ण कुनै घोषणा पनि भएन । कोप अर्थात् पक्ष राष्ट्रहरुको भेला सन् १९९२ बाटै सुरु भएको अभियान हो । हुन त यसपटक प्रधानमन्त्री दाहालले राम्रै सहयोग भित्रने दाबी गरिसकेका छन् ।
यद्यपि, यस्तो आशा पहिलेका सम्मेलनहरुमा फर्केका सरकार प्रमुखहरुले पनि गर्दै आएका थिए । यसपटक प्रधानमन्त्रीको टोलीमा वनमन्त्री वीरेन्द्र महतो, स्वास्थ्यमन्त्री मोहन बस्नेत पनि कार्यक्रमस्थल पुगे । विभिन्न क्षेत्रका नेपाली पनि कोप सम्मेलनस्थलमा प्रत्यक्षदर्शी बन्न पुगेका छन् । पर्यवेक्षकहरुबाट भोलिका दिनमा नेपालको सहभागिता र प्रस्तुतिबारे रिपोर्ट आउने छ नै । तर प्रधानमन्त्रीले यसपटकको सहभागिता महŒवपूर्ण भएको दाबी गरे पनि उही औपचारिकताबाहेक बढी केही देखिन्न ।