काठमाडौं– सरकारले रुसी सेनामा भर्ती भएका छ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ती भई रसिया–युक्रेन युद्धमा संलग्न उनीहरुको मृत्यु भएको जनाएको हो ।
‘रुसमा हालै छ जना नेपाली नागरिकको रुसी सेनामा कार्यरत रहँदा दुःखद निधन भएको जानकारी प्राप्त भएको छ,’ मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।रुसी सेनामा भर्ती भई मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का प्रितम कार्की, दोलखाको मेलुङ–६ का राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका मन्त्रालयले जनाएको छ ।
परराष्ट्रले रुसी सरकारलाई मृतकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन आग्रहसमेत गरेको छ ।परम्परागतरुपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ती हुँदै आएकोबाहेकका मुलुकमा सेनामा भर्ती हुन दिने नेपाल सरकारको नीति नरहेको पनि परराष्ट्रले प्रस्ट पारेको छ ।
तसर्थ रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुसी सरकारलाई आग्रह गरिएको छ । त्यसैगरी, सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिएर मात्र यात्रा गर्न पनि सर्वसाधारण सबैमा मन्त्रालयले अपिल गरेको छ ।
त्यस्तै मन्त्रालयले कसैको प्रलोभनमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकको सेनामा भर्ना नहुन पनि सम्बन्धित सबैलाई सचेत गराएको छ ।