भरतपुर - दुर्लभ चरा संरक्षणमा यहाँका संरक्षणकर्मी जुटेका छन् । भरतपुर महानगरपालिका–२६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन् ।
पहिले प्रशस्त सङ्ख्यामा पाइने चराहरू अहिले लोप हुन थालेपछि संरक्षणकर्मी चरा संरक्षण र सङ्ख्या बढाउने अभियानमा लागेको चितवन गाइड एशोसिएसन मेघौली घटघाई उपसमितिका अध्यक्ष एवं संरक्षणकर्मी मनिष लिम्बूले जानकारी दिए । उनका अनुसार दिव्यनगर क्षेत्रका खेतबारीमा विश्वका दुर्लभ चरा देख्न सकिन्छ ।
चरा संरक्षणका लागि जनचेतना जगाउन वडामा सोमबार होर्डिङ बोर्ड राखिएको छ । बोर्डमा चरा संरक्षणका बारेमा जानकारी र ३६ प्रकारका चराको सूची राखिएको लिम्बूले बताए । “यहाँ जाडो छल्न चरा आउँछन्”, उनले भने, “खानेकुरा खोज्दै आउने चरालाई बचाउने हाम्रो जिम्मेवारी हो ।”
चरा संरक्षणका लागि वडा नं २६ ले आर्थिक सहयोग गरेको छ । वडाध्यक्ष ज्ञानप्रसाद खनालले यस वर्ष ५० हजार बजेट विनियोजन गरेको र आगामी वर्षहरूमा चरा संरक्षणका लागि बजेट थप्दै लैजाने बताए । “संसारमै नभएका चरा यहाँ छन्”, उनले भने, “यी चराको संरक्षण गर्न गाउँघरमा जनचेतना जगाउनुपर्छ ।”
उनले वडामा कुनै पनि चरा मार्न नपाइने भन्दै चरा संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए। पर्यटन प्रवर्द्धनका लागि पनि चरा महत्तवपूर्ण भएको उनको भनाइ छ । चराविज्ञ हठन चौधरीले चरा संरक्षणका लागि जनचेतान जगाउन आवश्यक रहेको बताए ।
उनले स्कुलस्तरमा चरा संरक्षणका लागि कार्यक्रम गर्नुपर्ने भन्दै खेतबारीमा रासायनिक विषादी प्रयोग नगर्न किसानलाई अनुरोध गर्नुपर्ने बताए । साइबेरिया, काजकिस्तान, मङगोलिया, तिब्बतजस्ता मुलुकबाट नेपालमा दुर्लभ चरा आउने गरेको उनले बताए । नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । यसमा ४२ प्रजातिका चरा दुर्लभ चरा यहाँ छन् ।