रुसी सेनामा कार्यरत छ जना नेपाली मारिएको पुष्टि नेपाल सरकारले सोमबारमात्र गरेको छ । विभिन्न सञ्चारमाध्यममा पाँच दिनअघिबाटै नेपाली मारिएको खबर आए पनि सरकारले यसबारे बल्ल पुष्टि गरेको हो । रुस र युक्रेन युद्धको क्रममा ती नेपालीहरु कतिबेला मारिएका थिए यकीन तथ्यांक सरकारसँग छैन । गोरखाका सन्दीप थपलिया ११ महिनाअघि नै मारिएको बताइएको छ । विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा छन् ।
रुसमा सेनाको रुपमा भर्ना हुन नेपाल सरकारले कुनै अनुमति नदिएको परराष्ट्र मन्त्रालय बताउँछ । तर, कामदार भिसा भने सरकारबाट उपलब्ध हुँदै आएको छ । रुसमा पुगेपछि उनीहरुलाई त्यहाँको सरकारले नै सेनामा भर्ती गरिदिएपछि के गर्ने ? तर नेपाल सरकारले भने उनीहरुलाई अब सेनामा भर्ती नगराउन र गरेको भएमा फिर्ता पठाउन आग्रह गरेको छ । रुसी सेनामा १० हजार जति नेपालीहरु भएको अनुमान गरिन्छ ।
१८ वर्षदेखि ४० वर्ष रुसी र १८ वर्षदेखि ३० वर्षसम्मका विदेशीलाई सेनामा भर्ना हुने मौका रुसले प्रदान गर्दछ । रुसमा वाग्नरजस्ता भाडाका सेनाहरु पनि छन् । नेपालीहरु त्यहाँ पुग्नुको कारण उमेरमात्र होइन, आकर्षक तलब पनि हो । रुसी सेनामा भर्ती भएकाहरुले महिनामा दुई लाखदेखि चार लाख रुपैयाँसम्म कमाउँछन् ।
कमाइको लोभमा मृत्युको भुंग्रोमा किन पुग्न बाध्य छन् नेपाली ? उत्तर सजिलो छ, नेपालमा बढ्दो बेरोजगारी र आर्थिक संकट । यही संकटमोचनका लागि लाखौं लगानी गरेर नेपालीहरु जोखिम मोल्दै कमाइ हुने देशको खोजीमा पुग्छन् । देशमा कुनै आशाको संकेत छैन । नेताहरु आफ्नै कुर्सी जोगाउनमै भ्याइनभ्याइ छ । कुर्सीका लागि सांसदको सिट नपुगेकाहरु छिट्टै चुनाव गर्नुपर्ने पक्षमा छन् । कोही थरीथरीका तन्त्रमा रमाइरहेका छन् । संसद् बिजनेसविहीन छ ।
सरकारलाई कुनै खबरदारी जननिर्वाचित संस्थाले गर्न सकेको छैन । प्रतिनिधिसभाका सभामुख अधिवेशन डाक्न सक्दैनन् । संसदीय समितिले कुनै विधेयक पारित गर्ने छाँट देखाउँदैन । युवालाई नेपालमै अडिने खालको कार्यक्रम र योजना कुनै दलसँग छैन । जसले गर्दा नेपालीहरु मिसाइलको भुंग्रोमा हिरा खोज्न हिँडेका हुन् । उनीहरुलाई फर्क भनेर आदेश दिने हैन सरकार, आफैं फर्केर आउन मन लाग्ने गरी देशमा रोजगारी सिर्जना गर ।