नयाँ दिल्ली–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्तरूपमा उभिने प्रतिबद्धता जनाएका छन् । भारत भ्रमणमा रहनु भएका ट्रम्पले मङ्गलबार गान्धीको समाथीस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै गान्धीको दृष्टीकोणप्रति अठोट व्यक्त गरेका हुन् ।
समाधिस्थलमा राखिएको आगन्तुक पुस्तिकामा उनले लेखे, ‘स्वायत्त र स्वतन्त्र भारतका लागि महात्मा गान्धीले खेल्नु भएको भूमिका र महात्मा गान्धीका अन्य दृष्टीकोणप्रति अमेरिकी जनता सशक्तरूपमा उभिन्छन्, यही नै तपाईँप्रति श्रद्धासुमन छ ।’
महात्मा गान्धीलाई श्रद्धाञ्जलि दिन अमेरिकी प्रथम महिला तथा ट्रम्पपत्नी मेलानीया ट्रम्प पनि राजघाट गएकी थिइन् ।
त्यहाँ रहँदा उनीहरूले एक मिनेट मौन धारण गरेका थिए । सोही अवसरमा उनीहरूलाई केन्द्रीयमन्त्री हरदीप सिंह पुरीले महात्मा गान्धीको अर्धकदको प्रतिमा उपहार स्वरूप प्रदान गरेका थिए । राजघाटमा राष्ट्रपति ट्रम्प दम्पत्तिले बृक्षारोपण पनि गरे । दुई दिने भ्रमणका लागि सोमबार भारत आएका ट्रम्पको टोली भ्रमणको पहिलो दिन गुजरातमा बनाइएको संसारकै सबैभन्दा ठूलो मानिने मोटेरा क्रिकेट रङ्गशाला र प्रेमको प्रतिक मानिने ताज महल गएका थिए ।
रङ्गशालामा नमस्ते ट्रम्प नाम दिइएको भव्य कार्यक्रमको आयोजना गरिएको थियो र त्यहाँ दुवै नेताले सम्बोधन गरेका थिए । आफ्नो कार्यकालको अन्तिम वर्ष भारत भ्रमणमा आएका ट्रम्प मङ्लबार राति स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
ट्रम्पको भारत भ्रमणले भारत र अमेरिकाबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने विज्ञले विश्वास व्यक्त गरेका छन् । (रासस÷एएनआई)