भक्तपुर– जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय छात्र म्याराथुन दौड प्रतियोगिताको उपाधि वागीश्वरी माध्यमिक विद्यालयका अभिषेक बस्नेतले हात पारेका छन् । मध्यपुरथिमिस्थित शिक्षा विकास सञ्जालको पाँचौँ वार्षिकोत्सवको अवसरमा मगलबार आयोजना गरिएको पाँच किलोमिटर म्याराथुन प्रतियोगितामा १९६ प्रतिस्पर्धीलाई पछाडि पार्दै बस्नेतले २१ मिनेट ५५ सेकेण्डमा दौड पूरा गरी नगद पुरस्कार रु २० हजारसहित उपाधि हात पारेका हुन् ।
मध्यपुरथिमि नगरपालिकालको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा सैनिक आवासीय माध्यमिक विद्यालयका नवीन्द्र कार्की दोस्रो र लिटिल गार्डेन सेकेण्डरी स्कूलका सरोज तामाङ तेस्रो भएका छन् । दोस्रो हुने कार्कीले रु १५ हजार र तेस्रो हुने तामाङले रु १० हजार नगद पुरस्कार हात पारेका छन् ।
त्यस्तै वागेश्वरी माविका लालबहादुर थापा, भक्तपुर इङ्ग्लिस स्कूलका आरुष यादव, आदर्श सेकेण्डरी स्कूलका ब्रियान गौतम, रेन्बो इङ्ग्लिस स्कूलका सिर्जनकुमार राना, गणेश सेकेण्डरी स्कूलका समीर गोलेले जनही नगद रु तीन हजार पुरस्कारसहित सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले विजयी विद्यार्थीलाई नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरे । सो अवसरमा उनले खेलकूद क्षेत्रको विकासका लागि नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरी बजेट नै पारित गरेको बताए ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६ ०७:५५