काठमाडौं– दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा थप नेपाली श्रमिक पठाउन भाषा परीक्षाका लागि आवेदन माग गरिएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आगामी पुस २ देखि ६ गतेसम्म भाषा परीक्षाका लागि आवेदन माग गरेको हो ।
एचआरडी कोरियाबाट रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जना श्रमिकको माग भई आएको शाखाले उल्लेख गरेको छ । शाखाले मंगलबार एक सूचना जारी गर्दै नेपाल–कोरियाबीच सम्पन्न समझदारी पत्र (एमओयू) अनुरुप इपिएसअन्तर्गत नेपाली नागरिकलाई उत्पादनमूलक क्षेत्रमा कामदारका रुपमा छनोट गर्ने सम्बन्धमा भाषा परीक्षामा सामेल हुन इच्छुकहरुलाई आवेदन फाराम दर्ता गर्न आह्वान गरेको छ ।
भाषा परीक्षाका लागि आवेदन माग गरिए पनि परीक्षाको मिति माघ २२ गते सार्वजनिक गरिने शाखाले जनाएको छ । आवेदन दिने परीक्षार्थीको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने छ । भाषा परीक्षा एक दिनमा चार सिफ्ट सञ्चालन हुने छ । आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने इपिएस शाखाले जनाएको छ । आवेदक संख्या बढी भएमा पहिलो र दोस्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुने छ ।
इपिएस भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीहरुले दोस्रो चरणको स्किल टेस्टमा उत्तीर्ण भई स्वास्थ्य परीक्षणबाट समेत सफल भएपछि मात्र रोजगार आवेदन फाराम भर्न सकिने बताइएको छ । भाषा परीक्षा र सीप परीक्षणमा प्राप्त अंकको आधारमा अधिकतम अंक प्राप्त गर्नेहरुहरुलाई रोजगारीका लागि क्रमशः रोस्टरमा सूचीकृत गरिने शाखाले उल्लेख गरेको छ ।
कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कोरियामा गई गैरकानुनी गतिविधिमा संलग्न भई वा गैरकानुनीरुपमा बसोबास गरी स्वदेश फिर्ता नपठाइएको, कोरियामा ई–९ र ई–१० भिसामा पाँच वर्षभन्दा कम अवधि बसेको र सन् २०२३ भित्र इपिएस परीक्षाका लागि आवेदन नदिएका व्यक्तिलेमात्रै आवेदन फारम भर्न पाइने शाखाले जनाएको छ ।
कोरियाले कृषि, उत्पादनमूलक क्षेत्रमामात्रै नेपाली श्रमिकको माग गर्दै आइरहेकोमा सिप बिल्डिङका लागि पनि माग गर्न थालेको छ । शाखाले गत हप्तामात्रै सिप बिल्डिङका लागि भाषा परीक्षा दिएका परीक्षार्थीमध्ये चार हजार ९८ जना उत्तीर्ण भएको नतिजा सार्वजनिक गरेको छ भने यही मंसिर २४ गते देखि २८ गतेसम्म उनीहरुको सीप परिक्षण हुने बताएको छ । अब भाषा परिक्षा र सीप परिक्षणमार्फत कोरियाको निर्माण र सेवा क्षेत्रमा पनि नेपालीलाई रोजगारीको अवसर दिने तयारी गरेको इपिएस शाखाका निर्देशक गुरुदत्त सुवेदीले बताए ।
‘यसअघि कोरियाले नेपालबाट कृषि र उत्पादन क्षेत्रमा मात्र नेपाली श्रमिकको माग गर्दै आएकोमा केही अघिदेखी शिप बिल्डिङमासमेत माग गर्न थालेको छ,’ उनले भने, ‘आगामी दिनमा निर्माण र सेवा क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने जानकारी दिइएको छ ।’ हाल उत्पादनमूलक क्षेत्रमा थप नेपाली श्रमिक लैजाने गरी भाषा परीक्षाका लागि आवेदन माग भए पनि कृषि क्षेत्रमा जाने कामदारको सूची अझै रोस्टरमै रहेका कारण अहिले नै आवेदन खुल्ने सम्भावना नरहेको निर्देशक सुवेदीले बताए ।
कोरियाको प्रवासी मजदुर नीति निर्धारण समितिले २०२४ का लागि एक लाख ६५ हजार कोटा निर्धारण गरी नेपालसहित १६ मुलुकबाट इपिएसअन्तर्गत विदेशी श्रमिक माग गर्ने निर्णय गरेको छ । कोटाअनुसार उत्पादनमूलक क्षेत्रमा ९५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा १६ हजार, शिप बिल्डिङमा पाँच हजार, निर्माण क्षेत्रमा छ हजार, सेवा क्षेत्रमा १३ हजार र अन्य विविध क्षेत्रमा ३० हजार विदेशी श्रमिक आपूर्ति गरिने बताइएको छ ।