काठमाडौं- वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पोर्चुगलमा आकर्षक तलबसहितको रोजगारीमा लगाइदिने भन्दै पिडितसँग रकम लिएर फरार रहेको आरोपमा सूष्माकुमारी खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
बारा जिल्ला स्थायी घर भई काठमाडौं बस्ने ४३ वर्षीय खड्काले राजु शाहीसँग पोर्चुगल पठाइदिने भन्दै पटक–पटक गरी सात लाख ५० हजार रुपैयाँ लिएर ठगी गरेको प्रहरीले जनाएको छ । पोर्चुगलको एक प्रतिष्ठित होटलमा मासिक एक लाख २० हजार रुपैयाँभन्दा बढी तलब हुनेगरी काम लागाइदिने प्रलोभनमा पारी रकम लिएर फरार रहेको अवस्थामा खड्कालाई पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ । उनलाई खोजतालासका क्रममा बानेश्वरबाट पक्राउ गरिएको बताइएको छ ।
पीडितबाट पटक–पटक गरी रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा वैदेशिक रोजगार विभाग काठमाडौंले पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।