पोखरा — पोखराको सहारा क्लबद्वारा संचालित सहारा एकेडेमीको लागि सरकारले वार्षिक ५ लाख रूपैयाँ उपलब्ध गराउने भएको छ । यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सोमबार एकेडेमीको भ्रमण गर्दै एकेडेमीलाई वार्षिक ५ लाख उपलब्ध गराउन रातो किताबमै राखिने बताए ।
मन्त्री विश्वकर्माले सरकारले गर्नु पर्ने काम निजि क्षेत्रबाट भईरहेकोमा क्लबको प्रसंशा गर्दै आगामी वर्षबाट रकम उपलब्ध गराउने प्रतिवद्दता व्यक्त गरे ।
क्लबले स्वदेश तथा विदेशी दाताको सहयोगले एकेडेमीसहित वार्षिक रूपमा आहा रारा गोल्डकप गर्दै आएकोमा आफुलाई गर्व लागेको समेत मन्त्री विश्वकर्माले बताए ।
नेपालको खेलकुदले प्रतिकुलताका बावजुद फड्को मारेको बताउँदै मन्त्री सुनारले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई बाँचुञ्जेल मासिक ५ हजार र ओलम्पिकमा सहभागीलाई बाँचुञ्जेल मासिक ४ हजार प्रदान गर्ने गरि सरकारले निती बनाएको पनि बताए ।
उनले १३ औं दक्षिण एशियाली खेलकुद (साग) का विजेता खेलाडीलाई दिइने पुरस्कार वापतको रकम क्याविनेटले पास गरिसकेको समेत बताए ।
मन्त्री विश्वकर्मालाई सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा, संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्ष विरभद्र आचार्य, विक्रम थकाली, उपाध्यक्ष विश्वराज बराल लगायतले स्वागत गरेका थिए । यस्तै मन्त्री विश्वकर्माले पोखरा रंगशालाको समेत अवलोकन गरेका थिए ।