काठमाडौं– मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्न वर्तमान खर्चिलो निर्वाचन प्रणालीले बाधा खडा गरिरहेको राष्ट्रियसभाकी सांसद इन्दु कडरियाले बताएकी छिन् ।
पैसा हुनेले जित्ने निर्वाचन प्रणाली बदल्नु पर्नेमा सबैले एक भएर सोच्नु पर्ने अवस्था उनले औँल्याइन । राजनीतिमा जीवन समर्पित गरेकाको पनि पैसावालका अगाडि केही नचल्ने अवस्था हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।
‘निर्वाचन असाध्यै महँगो भयो, निर्वाचन खर्च देखेर उम्मेदवार हतोत्साही हुने अवस्था छ,’ उनले भनिन, ‘निर्वाचन प्रणाली बदल्नुपर्छ भनेर बारम्बार आवाज उठाइरहेका छौँ, आजीवन राजनीति गरेकाको पैसावालका अगाडि केही लाग्दैन, उसले ठूलो धनराशि खर्च गर्छ र ऊ विजयी हुन्छ, अब त्यसलाई निरन्तरता दिनु हुँदैन ।’
उनले सांसदको काम ऐन कानुन बनाउने भए पनि त्यसलाई बुझाउन नसक्दा जनताले सांसदबाटै विकासको अपेक्षा पनि गरेको उल्लेख गरिन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बाट राष्ट्रियसभाकी सांसद कडरिया संघीय संसद् र सांसदको भूमिकाका सम्बन्धमा जनतालाई बुझाउन नसकिएको स्वीकार गर्छिन् ।
‘मुलुकले संघीय शासन प्रणाली अपनाएपछि विधायकको भूमिका विकास–निर्माणभन्दा पनि कानुन निर्माणमा केन्द्रित हुनुपर्छ भनेर मुलुकको आवश्यकतासँग सम्बन्धित कानुन निर्माण गरियो,’ उनले भनिन, ‘तर जनतामा विकास– निर्माणको जिम्मेवारी सांसदले लिनुपर्छ, सांसदले गाउँको विकास गर्नुपर्छ भन्ने सोच छ ।‘ यद्यपि, आफूहरूले विकास–निर्माणभन्दा पनि कानुन निर्माणलाई प्राथमिकतामा राखेको उनी बताउँछिन् ।
‘विधायकको मुख्य काम नै नीति–नियम र कानुन बनाउने हो । यति हुँदाहुँदै पनि सांसदले विकासका योजना लिएर आउनुपर्छ भनेर जनताले बुझेका छन्, हामीले जनतालाई स्पष्ट पार्न सकेनौँ,’ उनले भनिन, ‘अझै पनि सांसदले कानुन बनाउनेभन्दा पनि आफ्नो निर्वाचन क्षेत्रको भौतिक विकास गर्ने हो भनेर जनताले बुझेको अवस्था छ । तर हामीले विस्तारै जनतालाई त्यसो होइन भन्ने बुझाउँदै गएका छौँ ।’
प्रारम्भका दुई वर्ष राष्ट्रियसभामा कानुन निर्माणका निम्ति सक्रियतापूर्वक काम गरेको स्मरण गर्दै उनले विश्वव्यापी कोरोना महामारीलगायत प्रतिकूल परिस्थितिका कारण सोचेजस्तो काम गर्न नसकिएको स्वीकार गरिन ।
‘राष्ट्रियसभाबाट जति काम गर्न सक्छौँ भनेर सोचेका थियौँ, कोभिडका समयमा गर्न सकिएन । जुन उद्देश्य लिएर राष्ट्रियसभामा गएका थियौँ, त्यो उद्देश्य पूर्णतः पूरा गर्न सकिएन भन्ने लागेको छ । यसमा विविध कारण र बाधा–अवरोध जिम्मेवार छन्,’ उनले भनिन ।
राष्ट्रियसभालाई प्रबुद्ध व्यक्तिको सभाका रूपमा चित्रण गर्दै सांसद कडरियाले राष्ट्रियसभामा प्रतिनिधिसभाको छाया नपरेको दाबी गरिन । ‘राष्ट्रियसभामा सबै दलको सहमतिमा बैठक चलिरहेको छ । प्रतिनिधिसभाको अवरोधका कारण राष्ट्रियसभामा प्रभाव परेको अवस्था छैन,’ उनले भनिन, ‘राष्ट्रियसभा ठीक समयमा सुरु हुने र अन्त्य हुने गरेको छ । कुनै पनि घटनाले राष्ट्रियसभालाई प्रभाव पारेको छैन भन्ने मेरो बुझाइ हो ।’
अहिले पनि विभिन्न दलबाट राष्ट्रियसभामा प्रतिनिधित्व रहेको र कुनै दलले सभामा अवरोध नगरेको उनी बताउँछिन् । ‘प्रतिपक्षले केही विषयमा संसद्मा आवाज उठाएको अवस्था हो, त्यसलाई ठूलो रूपमा लिन नहुने र लामो समयसम्म सदन अवरुद्ध हुने अवस्था राष्ट्रियसभामा नआएको उनले बताइन । राष्ट्रियसभामा राष्ट्र, राष्ट्रियता र जनजिविकासँग सम्बन्धित सवाल गम्भीररूपमा उठेका जानकारी दिँदै उनले सीमा समस्यालगायत राष्ट्रिय मुद्दालाई प्राथमिकतापूर्वक उठाइएको बताइन ।
सरकारले ‘बिजनेस’ नदिँदा राष्ट्रियसभाले प्रभावकारी काम गर्न नसकेको टिप्पणी उनले गरिन । ‘सरकारले नै विधेयक दिन सकेन भने सांसदले मात्रै गर्न सक्ने अवस्था उल्लेख गर्दै उनले भनिन, ‘सरकारले सदनमा प्रशस्त विधेयक ल्याउन सक्नुपर्थ्यो, सदनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसक्नु सरकारको कमजोरी हो, सरकारले बिजनेस दिन सकेन भने कसरी सदन प्रभावकारी ढङ्गले चल्छ ?’