गण्डकी- नेपाली कलाकार अभिनित तेलुगु फिल्म ‘हिटम्यान’ नेपाली, हिन्दी, अरबी, तमिल, चिनियाँलगायत भाषामा एकसाथ प्रदर्शनमा आउने भएको छ ।
आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्देशक एवं अभिनेता विष्णु अधिकारीले आगामी फ्रेबुअरीदेखि फिल्म विश्वव्यापी प्रदर्शन हुने जानकारी दिए । प्रदर्शनको मिति भने केही दिनपछि तय हुने उनले बताए ।
फिल्ममा अधिकारीसँगै, आँचल शर्मा, प्रशान्त ताम्राकार र मिलन सिजापतीलगायत कलाकारको अभिनय रहेको जनाइएको छ । फिल्मको कथा पनि अधिकारीले नै लेखेका हुन्। दक्षिण भारतीय शैलीमा बनेको फिल्ममा नेपाल र भारतबीचको अन्तरसम्बन्धलाई देखाउन खोजिएको निर्देशक अधिकारीले बताए ।
फिल्मले काठमाडौँ र पोखराको सौन्दर्यलाई प्रस्तुत गर्ने उनको भनाइ छ । नेपाल, भारत, दुबई, श्रीलंका र फ्रान्समा फिल्मको छायांकन गरिएको अधिकारीले बताए । ९९ सिनेमाज्को ब्यानरमा बनेको फिल्मको निर्माता दीपक अधिकारी र सहनिर्माता सन्नी लावती रहेको छ । उक्त फिल्मलाई ओटिटी ल्पेटफर्म अमेजन प्राइम भिडियोमासमेत प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।