काठमाडौं - दीपेन्द्र दोङ पत्रकारिता पुरस्कार गोरखापत्रकर्मी शिवामाया तामाङलाई प्रदान गरिएको छ। बिहीबार काठमाडौंको बौद्धमा नेपाल तामाङ घेदुङका महासचिव जगतमान दोङ तामाङले गोरखापत्रकर्मी शिवालाई उक्त पुरस्कार प्रदान गरिएको हो।
तामाङ पत्रकार संघको २० औं स्थापना दिवस परी पुरस्कार प्रदान गरिएको हो। लामो समय पत्रकारितामा सक्रिय दीपेन्द्र दोङ तामाङको गत चैत ११ गते ४३ वर्षको उमेरमा निधन भएको थियो। उनै पत्रकार दोङको सम्झनामा स्थापना गरिएको पत्रकारिता पुरस्कार पहिलोपटक गोरखापत्रकर्मीलाई प्रदान गरिएको हो।
शिवालाई रु ५००० सहित सम्मानपत्र प्रदान गरिएको छ।तामाङ पत्रकार संघले यस अवसरमा रक्तदानसमेत आयोजना गरेको थियो। तामाङ सञ्चार समूह हुँदै अघि बढेको तामाङ पत्रकार संघले हरेक मंसिर २१ मा स्थापना दिवस मनाउँदै आएको अध्यक्ष सुवास तामाङ योञ्जनले बताए।