काठमाडौं– वैदेशिक रोजगार विभागले अनलाइनबाटै श्रम स्वीकृति लिन सम्बन्धित सबैलाई आग्रह गरेको छ । वैदेशिक रोजगारीको लागि जाने नेपालीहरुले श्रम स्वीकृति लिनुपर्ने व्यवस्था भए बमोजिम विभाग र मातहतका कार्यालयबाट पूर्ण रुपमा अनलाईनमार्फत सेवा लिन आग्रह गरिएको हो ।
विभागले एक विज्ञप्ती जारी गर्दै श्रम स्वीकृतिको सम्पूर्ण कार्य अनलाइनमार्फत हुँदै आएको जनाउँदै भौतिक रुपमा कार्यालयमा उपस्थित हुनु नपर्ने जनाएको छ । वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेइम्स) मार्फत अनलाइनबाट घरबाटै सेवा प्राप्त हुने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ । उपलब्ध जनशक्तिको आधारमा दैनिक (टोकन) खुला गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको विभागले उल्लेख गरेको छ ।
विभागले टोकन प्राप्त गरेको मिति र समयबाट प्राविधिक कारणले सम्भव भएसम्म ७२ घण्टाभित्र अनलाइन रूपमा श्रम स्वीकृतिसम्बन्धी सेवा प्रदान गरिने प्रतिबद्धता जनाएको छ । रोजगारीको लागि विदेश जान तयारी गरिरहेका श्रमिकहरुले श्रम स्वीकृति नभई हवाई टिकट नलिन र कार्यालयमा भौतिक रूपमा उपस्थिति नजनाउनसमेत विभागले आग्रह गरेको छ ।
फेइम्स प्रणालीमा पटकपटक समस्या आउन थालेपछि श्रम स्वीकृतिको लागि विभागमा सेवाग्राहीको भिड लाग्ने गरेको छ ।
गत हप्ता फेइम्स प्रणालीमा समस्या आएपछि विभागले समस्या समाधान नभएसम्म श्रम स्वीकृति लिन भौतिक रूपमै कार्यालय आउन आग्रह गरेको थियो । हाल फेइम्समा आएको समस्या समाधान भइसकेको भन्दै विभागले कार्यालयमा नआएर अनलाइनबाटै श्रम स्वीकृति लिन सूचीत गरेको हो ।