मुलुकमा रोजगारको सम्भावना देखिएको छैन । सरकारले युवाहरूलाई स्वदेशमै उपयोग गर्ने र मुलुकलाई समृद्ध बनाउनेतर्फ ध्यान दिएको छैन । बरु सरकारले युवाहरूलाई स्वदेशमै थुनेर राख्ने काम गरिरहेको देखिन्छ । साँच्चै सरकारले युवाहरूलाई विदेश पठाउनै चाहँदैन तर सरकारले युवाहरूलाई स्वदेशमै रोजगार दिन पनि सक्दैन । कस्तो गज्जबको कुरा । आफू दिन नसक्ने र उसले गरी खाँदै आएकोप्रति सरकारले आरिस गरिरहेको देखिन्छ । स्वदेशमै रोजगार पाउने हो भने कोही पनि विदेशमा गएर दोस्रो दर्जाको नागरिक बनेर काम गर्ने सोच हुँदैन । सरकारले सक्यो भने युवाहरूलाई आफ्नै मुलुकमा व्यवस्थापन गर्ने हैसियत राख्नुपर्छ । श्रम बजारमा वार्षिक करिब ५ लाख युवा आउँछन् । उनीहरूलाई व्यवस्थापन गर्ने काममा सरकार चुकेको देखिन्छ । तर पनि उसले वैदेशिक रोजगारलाई विस्थापन गर्न अनेकौँ प्रपञ्च गरिरहेको छ ।
तर, भर्खरैमात्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले वैदेशिक रोजगारको लागि नयाँ नयाँ गन्तव्य खोज्न थालेका छन् । युवाहरूलाई मुलुकमा रोजगार दिन नसकेपछि युवाहरूका लागि सुरक्षित वैदेशिक रोजगार खोज्नु हरेक सरकारको काम हो । अब नेपालीहरूलाई युरोपतिर पठाउने काममा सरकारले काम अघि बढाउनुपर्छ । युवाहरूलाई स्वदेशमै काम गर्ने मौका दिन नसकेपछि अब सरकारले राम्रो कमाइ हुने मात्र नभएर सुरक्षित मुलुकको खोजीमा कन्जुस्याइँ गर्नु हुँदैन । मुलुकमा उत्पादन गर्न नसकिएपछि अब रेमिट्यान्सबाट पनि मुलुकलाई अघि बढाउन हिच्किचाहट मान्नु पर्दैन । अहिले नेपालको दुई तिहाइ सरकारको खर्च रेमिट्यान्सले धानिरहेको छ । यसैले सरकारले अब वैदेशिक रोजगारलाई नियमन गरेर यसलाई व्यवस्थित बनाएर अझ बढी रेमिट्यान्स कसरी भित्रन्छ, यतातिर सरकारले दिलोज्यान दिनुपर्ने बेला आएको छ ।
अहिले नेपाली कामदारहरूका लागि वैदेशिक रोजगार भन्नु नै खाडी र मलेसिया मात्र भएकाले सरकारले नयाँ श्रम गन्तव्यको खोजी गर्न थाल्नुपर्छ । खाडीको ५० डिग्रीसेन्टिग्रेड तापक्रममा पसिना बगाए पनि रेमिट्यान्स भनेजति भित्रिएको छैन । यत्ति मात्र होइन, कतिपय नेपाली युवाहरू खाडी मुलुकमा अत्यन्तै तल्लो स्तरको काम गर्दै आएका छन् । सरकारले अब वैदेशिक रोजगारमा दक्ष कामदारलाई मात्र पठाउने गरी कार्यक्रम बनाउनुपर्छ । सरकारले अदक्ष कामदारलाई स्वदेशमै दक्ष बनाएर विदेश पठाउने हो भने युवाहरूले भित्र्याउने रेमिट्यान्सको मात्रा पनि बढ्छ । जसबाट सरकारले पनि फाइदा लिन सक्छ । यति मात्र होइन, नेपाल सरकारले खाडी तथा अन्य क्ष्ेत्रका रोजगारदातासँग बसेर नेपालीको सुरक्षा र आम्दानीलाई बढाउन छलफल चलाउनुपर्छ । नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई पनि सहयोग गरेर बढीभन्दा बढी राम्रो कम्पनीमा कामदार पठाउनेलाई पुरस्कृतसमेत गर्ने परिपाटी बसाउनुपर्छ । यसो भयो भने वैदेशिक रोजगार व्यवसायीहरू पनि युवाहरूलाई राम्रोभन्दा राम्रो कम्पनीमा पुर्याउन प्रेरित हुनेछन् । त्यस्तै, युवाहरूले भित्र्याएको रेमिट्यान्सलाई उचित ठाउँमा लगानी गर्ने वातावरण बनाएर युवाहरूको भविष्यलाई पनि उज्यालोमय बनाउनेतर्फ सरकारले योजना अघि ल्याउनुपर्छ ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६ ०८:२७