काठमाडौं– पछिल्लो सात महिनाको अवधिमा वैदेशिक रोजगारीसम्बन्धी ८६१ वटा ठगीको उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक मदन दाहालले आफ्नो सात महिने कार्यकालमा भए गरेका क्रियाकलापको विवरण सार्वजनिक गर्दै वैदेशिक रोजगारसम्बन्धी यी उजुरी परेको बताएका हुन् ।
यससम्बन्धमा विभागले आइतबार विज्ञप्ति जारी गर्दै २०८० जेठ महिनाको ४ गतेदेखि अहिले (मंसिर २४ गते) सम्म वैदेशिक रोजगारसम्बन्धी संस्थागत (म्यानपावर कम्पनी) रुपमा २६९ र व्यक्तिगत रुपमा ५९२ वटा उजुरी दर्ता भएको उल्लेख गरेको छ । यस अवधिमा ३२ वटा नयाँ म्यानपावर कम्पनी दर्ता भएका छन् भने १६ वटा निलम्बनमा परेका छन् ।
त्यसैगरी ३२ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको विभागले उल्लेख गरेको छ । यतिमात्र नभइ वैदेशिक रोजगारसम्बन्धी न्यूनतम प्रचलित कानुनको परिपालना नगर्ने र विदेश जाने श्रमिकहरुको हित विपरीत कार्य गर्ने २ वटा म्यानपावर कम्पनीको इजाजतपत्रसमेत रद्द गरिएको छ । म्यानपावरले ठगी गरेको उजुरीतर्फ १६२ उजुरीको मिलापत्र भएको विभागले जनाएको छ । जसमा पीडितले क्षतिपूर्ति बापत दुई करोड ९२ लाख ६१३ रुपैयाँ पाएको बताइएको छ । बाँकी रहेको उजुरी संख्या आवश्यक कारवाहीको लागि प्रक्रियामा रहेको विभागले उल्लेख गरेको छ ।
यसैगरी व्यक्तिगत उजुरीतर्फ ५९२ मध्ये अदालतमा ६० वटा मुद्दा दायर भएको र मिलापत्रको संख्या ६८ रहेको छ । व्यक्तिगत ठगीको उजुरीमा २३ करोड २७ लाख ९७ हजार रुपैयाँ ठगी भएको दावी गरिएको छ भने अदालतमा दायर भएको उजुरीको मुद्दामा पाँच करोड १७ लाख ८६ हजार ५० रुपैयाँ क्षतिपूर्ति रकम दावी गरिएको छ । यस्तै व्यक्तिगत ठगीका घटनामा मिलापत्रपश्चात दुई करोड १४ लाख ९६ हजार १०० रुपैयाँ पीडितले भुक्तानी पाएको विभागले उल्लेख गरेको छ ।
आफ्नो झण्डै सात महिने कार्यकालको समिक्षा गर्दै महानिर्देशक दाहालले वैदेशिक रोजगारीको सिलसिलामा ठगीमा परेका, अलपत्र परेका, रोजगारदाताहरुले सम्झौता बमोजिम काम र तलब सुविधा नपाएका कामदारहरुको सम्बन्धमा विभागले अभिभावकीय भूमिका निर्वाह गरेको बताएका छन् । पछिल्लो समय विभागलेगरेको तीब्र अनुगमन तथा अनुसन्धानको कारण वैदेशिक रोजगार पीडितहरुको उत्साहत मनोवल बढ्दै गएको पनि उनले उल्लेख गरेका छन् ।
गत जेठ २ गते विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्न आएका दाहाललाई गत शुक्रबारमात्रै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा गरिएको छ । उनले म्यानपावर कम्पनीहरूमाथि कडा निगरानी गर्दै गलत गर्नेहरुको लाइसेन्स खारेज गर्नेेदेखि लिएर निलम्बन गर्ने सम्मको काम गरेका थिए । जसले गर्दा विभिन्न शक्तिको दवावमा उनको सरुवा भएको विभाग स्रोतको दावी छ ।