काठमाडौं - वैदेशिक रोजगारीको लागि अमेरिका र साउथ अफ्रिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । उक्त मुलुकहरुमा आकर्षक तलबसहितको रोजगारी लगाइदिने भन्दै पीडितसँग रकम लिएर फरार रहेको आरोपमा अभिषेक श्रेष्ठ र अन्जेश गिरी रहेका छन् ।
बर्दियाको मधुवन नगरपालिका–६ घर भई ललितपुर गोदावारी नगरपालिका–१० बस्ने ३० वर्षीय श्रेष्ठले नवीन खड्कालाई अमेरिका पठाई प्रतिष्ठित होटलमा मासिक ३ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटक पटक गरी आठ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनलाई खोजतालासका क्रममा लगनखेलबाट पक्राउ गरिएको बताइएको छ ।
त्यस्तै झापा बिर्तामोड नगरपालिका–४ घर भई काठमाडौं गौरीघाट बस्ने १८ वर्षीय गिरीले विजय खत्रीसमेत दुई जनालाई साउथ अफ्रिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटक पटक गरी १७ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । उनलाई खोजतालसको क्रममा सिनामंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडितबाट पटक–पटक गरी रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा वैदेशिक रोजगार विभाग काठमाडौंले पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।