- २५ भदौ २०७२ मा मधेस आन्दोलनको क्रममा घाइते सशस्त्रका असई थमन विकको एम्बुलेन्सबाटै थुुतेर आन्दोलनकारीले निर्मतापूर्वक हत्या
- श्रीमती शोभा र १२ वर्षीय छोरा सुुबोध थमनलाई न्याय दिलाउन भन्दै काठमाडौंमा
- हत्या आरोपी निलम्बित एमाले सांसद लक्ष्मी महतो कोइरी फरार
काठमाडौं– शोभा विक घरिघरी सपनामा श्रीमान् थमनलाई देख्छिन् । बिउँझिदा साथमा हुन्नन् । अनि, थमनलाई सम्झिँदै सुँकसुुकाउँछिन् । आँखा आँसुले भरिन्छन् । उनको यस्तो नियती आठ वर्षदेखिको हो ।
शोभालाई झल्झली याद छ कि थमनले २४ भदौ २०७२ को राति फोनमा भनेका थिए, ‘म ठिक छु है । तिमीले केही पीरचिन्ता नलिनु ।’ यसो भनेका थमन भोलिपल्टै क्रुरतापूर्वक ढंगले मधेसका आन्दोलनकारीहरूबाट मारिए । त्यसबेला सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा घाइते थमनलाई उपचारका लागि लगिँदै गरेको एम्बुलेन्सबाटै थुुतेर आन्दोलनकारीहरूले अन्ततः खेतमा लखेटीलखेटी छुरा प्रहार गरी हत्या गरेको दृश्य देखिएको थियो । घटना महोत्तरीको जलेश्वरको हो ।
जबकि, श्रीमती शोभा भने पाँच दिनपछि हुने तीजमा श्रीमान् थमनको दीर्घायूको कामना गर्दै ब्रत बस्ने तयारीमा थिइन् । त्यसका लागि दरको सामान किन्न बजार गएकी थिइन् । साँझ घरमा रेडियोमा समाचार सुनियो, ‘जारी मधेश आन्दोलनको क्रममा आन्दोलनकारीहरूद्वारा सीमा सुरक्षा कार्यालय जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या ।’
शोभाका अनुसार त्यसपपछि के भयो ? उनैलाई थाहा छैन । उनले प्रभावसँग भनिन्, ‘अर्धचेत अवस्थामै श्रीमानको काजकिरिया गरें ।’थमनको हत्या हुँदा शोभाको कोखमा साढे वर्षका दूधे छोरा सुबोध थिए । अहिले १२ वर्षका भएका छन् । बाँकेको नेपालगञ्ज–२५ शान्तिपुरका सुबोधलाई आफ्ना बुुबाको हत्या भएको भन्नेबाहेक केही पनि थाहा छैन । यो पनि उनलाई आमा शोभाले भनेकी हुन् ।
उनै शोभाको आँखा आठ वर्षदेखि ओभाएका छैनन् । आमाको आँखामा देखिने आँसुले सबैभन्दा बढी सुबोधलाई पिरोल्छ । उनी आँसु पुछिदिन्छन् । उसो त उनको हुर्काई नै आमाको रोदन र आँसु देखेर भएको हो । त्यही भएर होला सायद न्यायका लागि आमाको साथ लागेर काठमाडौं आएका उनले पत्रकारहरूसँग घटनाको फेहरिस्त सुनाउँदै गर्दा भक्कानिएकी आमाको आँसुु पुछ्दै भने, ‘नरुनु आमा, न्याय पाउँछौँ होला ।’
यसपछि सुबोध बोल्न सकेनन् । आँखा आँसुुले टिलपिल भयो । आमा शोभा भावविव्ह्ल भइन् । यस्तो कारुणिक दृश्य आइतबार काठमाडौंमा देखिएको हो । २८ वर्षमै विधुवा बनेकी शोभाको एउटै माग छ, ‘थमनको हत्यामा संलग्नलाई सजाय होस् ।’ थमनको हत्या आरोपी भने लक्ष्मी महतो कोइरी हुन् । मधेस आन्दोलनका बेला उनी मधेसी जनअधिकार फोरमबाट राजनीति गर्थे ।
तर, गत वर्षको चुनावअघि उनी एमालेमा प्रवेश भए । ४ मंसिर २०७९ मा भएको चुनावमा माओवादी नेता गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बने । उनी हाल निलम्बित छन् । प्रहरीका अनुसार उनी फरार छन् । उसो त उनी संसद् बैठकमै तीनपटक सहभागी भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि पद तथा गोपनीयताको शपथ ग्रहण गर्न र प्रधानमन्त्री पुष्पकमल दाहाललाई पहिलोपटक विश्वासको मत दिन । जबकि उनी प्रहरीको फरार सूचीमा थिए ।
तर, प्रहरीको सुुरक्षा पहराबीच उनी संसद् बैठकमा जान्थे । संसद् बैठकमै कांग्रेस सांसद रामहरि खतिवडालगायतले हत्या आरोपी सांसद महतोलाई पक्राउ नगरिएको भन्दै प्रश्न गरेका थिए । पत्रकारहरूको ‘समाचार निशाना’मा पनि कोइरी परेका थिए । त्यसपछि भने उनी संसद् बैठक आउन छाडे । संसद् सचिवालयले उनलाई निलम्बन गरेको सूचना प्रकाशन गरिसकेको छ ।
यति हुँदाहुँदै पनि कोइरीलाई पक्राउ गरिएको छैन । पीडित परिवारले न्याय पाएका छैनन् । न्यायका लागि दबाब दिन उनीहरू काठमाडौंमा आएका छन् । घटना भएको आठ वर्ष बित्दासम्म न्याय नपाएपछि सरकारसँग शोभा आक्रोशित छिन् । ‘झडपमा घाइते भएका मेरा श्रीमानलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाटै थुतेर धानखेतमा लखेटीलखेटी मारियो । ड्युटीको समयमा मारिएका मेरा श्रीमानका हत्यारालाई संरक्षण गरेर बसेको सरकारलाई म के प्रश्न गरौँ’, शोभा भन्छिन्, ‘यदि सरकार थियो भने यतिबेला मेरो घाउमा खाटा बस्न पाउनु पथ्र्यो । तर, सरकार त मेरो घाउमा खाटा लागोस् अनि त्यही खाटा उप्काएर दुखाइदिनु पर्छ भनेर कुरिबसेको छ ।’
महतोविरुद्ध हाल उच्च अदालत जनकपुरमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा विचाराधीन छ । अदालतले १९ मंसिर २०७७ मा महतोलाई पक्राउ गरेर पुर्पक्षका लागि थुनामै राख्न आदेश दियो । तर, अझै उनी पक्राउ परेकै छैनन् । जिल्ला अदालत महोत्तरीले २ असोज २०७६ मा महतोलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी रकम बुुझाएर उनी थुुनामुक्त भएका हुन् । त्यसपछि दल परिवर्तन गर्दै सांसद भए । हाल निलम्बित अवस्थाका उनलाई पक्राउ गरेर थुनामा नराखिएपछि शोभाले न्यायको अनुभूति गरेकी छैनन् ।
‘एउटा गरिब परिवारको छोरो किन मारियो ? ठीक छ, मारिएको हाम्रो मान्छे फर्काइदेऊ भनेको छैन, कम्तीमा बीभत्स तरिकाले हाम्रो मान्छेको हत्या गर्ने दोषीलाई कारबाही गर भन्दा पनि किन हाम्रो बेवास्ता गरिन्छ ? के यो देशमा कुनै राजनीतिक पावर नहुने हामीले चाहिँ न्याय नपाएरै मर्नु पर्ने हो ?’, शोभाको प्रश्न छ । श्रीमान् थमनका लागि न्यायको लडाइँ जीवनको अन्तिमसम्मै लड्ने उनको वाचा छ । के शोभा र सुवोधले न्याय पाउँलान् ?