असोज पहिलो साताको निर्णय – असोज १३, १४ र १५ गते
कात्तिक १९ गतेको निर्णय – मंसिर २९ देखि पुस २
मंसिर २१ गतेको निर्णय – पुस १६–१९
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न बाहना बनाउँदै महासमिति बैठक सार्ने तयारी गरेका छन् । यसअघि विभिन्न कारण तीनपटक सरिसकेको महासमिति पुस १६ गतेका लागि तय गरिएको थियो ।
तर देउवाले चिसोको कारण देखाउँदै महासमिति फेरि सार्ने तयारी गरेको कांग्रेस पदाधिकारीहरु नै बताउँछन् । मंसिर १३ मा बसेको पदाधिकारी बैठकमा सभापति देउवाले महासमिति फागुनमा सार्न प्रस्ताव गरेका थिए । जाडोको बेला काठमाडौंमा नेताकर्याकर्तालाई ल्याएर दुःख दिन नहुने भनाई देउवाका थियो ।
‘महासमिति बैठक सारौं । मध्य पुसमा यति जाडो हुन्छ । पुसको जाडोमै महासमिति बैठक गर्न मरिहत्ते किन गर्ने ? एक दुई महिना सारौं,’ देउवाको भनाई उद्धृत गर्दै एक पदाधिकारी भने ।असोज पहिलो साता बसेको केन्द्रीय समिति बैठकले महासमिति बैठक असोज १३, १४ र १५ गतेका लागि तय गरेको थियो ।
कात्तिक १९ गते बसेको कांग्रेस पदाधिकारी बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण देखाउँदै मंसिर २९ देखि पुस २ सम्म हुनेगरी नयाँ मिति तय गरिएको थियो । कांग्रेसले फेरि मंसिर २१ मा पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी महासमिति बैठक पुस १६–१९ मा सरेको बताए ।
महासमितिका लागि देशभर सम्मेलन जारी भए पनि कतिपय जिल्लामा अझै बाँकी नै छ । जसकारण पनि महासमितिको मिति पर धकेलिने नेताहरु बताउँछन् । यसैगरी राष्ट्रिय सभाको रिक्त १९ पदका लागि निर्वाचन हुँदैछ । जसका लागि उम्मेदवार चयन र निर्वाचन कार्यक्रममा सहभागी हुनुपर्दा महासमिति सर्न सक्ने नेताहरु बताउँछन् ।
महासमिति बैठक पटकपटक सारिन जायज नभएको बताउँछन् संस्थापनइतरका केन्द्रीय सदस्य मधु आचार्य । ‘महासमिति सार्नु जायज होइन । बमबारुद झेलेको कांग्रेसका लागि जाडो भयो भनेर बैठक सार्न औचित्यहीन कुरा हो,’ आचार्यले प्रभावसँग भने । तयारी नपुगे यसका लागि नयाँ मिति ठीक हुने उल्लेख गर्दै उनले पुस १६ मै महासमिति हुनुपर्ने तर्क गरे । ‘तयारी पुगेको छैन भन्न मिल्यो, नभए तोकेको समयमा महासमिति हुनुपर्छ,’ आचार्यले भने ।
कांग्रेस अझै तजबिजीमा चल्न थालेकोले आफूहरुले रुपान्तरण अभियान सञ्चालन गरेको उल्लेख गर्दै उनले यस्तो प्रवृत्तिले थप कमजोर हुने बताए ।कांग्रेसले महासमिति बैठकका लागि सभापति देउवाको नेतृत्वमा मूल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति, महामन्त्री थापाको नेतृत्वमा सांगठानिक प्रतिवेदन र महामन्त्री शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्ताव समिति गठन गरेको थियो ।
महासमिति बैठकमा विशेष गरी सैद्धान्तिक विषयमा छलफल हुन्छ । पार्टीले लिने नीतिबारे समूहगत रूपमा छलफल गर्ने तयारी पनि छ । ०७८ मंसिरमा भएको महाधिवेशनमा कांग्रेसले नेतृत्व अधिवेशन मात्रै गरेर नीति अधिवेशन पछि गर्ने निर्णय गरेको थियो ।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पुसको चिसोमा महासमिति बैठक नगरौं भन्ने खालका सुझाव आए पनि यसबारे औपचारिक निर्णय नभएको बताए । मंसिर २९ गते बस्ने पदाधिकारी बैठकले यसको निधो गर्ने उनले बताए ।