तनहुँ– काठमाडौँलाई मुख्य बजार बनाएर देवघाटमा उत्पादित सुन्तला बिक्री हुन् भएको छ । सुन्तला वितरणका लागि बजार व्यवस्थापन, किसानले सिधै अनुदान पाउने व्यवस्थालगायत विषय महानगरको बैठकमा छलफल गरिने कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।उनले भने , “देवघाटबाट सुन्तला आयात गर्दा विचौलियाले खाने कमिसन रोक्नुपर्छ । यसका लागि नगरप्रमुखसँग छलफलमा छौँ । बोर्ड बैठकबाट निर्णय गराएर प्रक्रियामा जाने गरी अगाडि बढेका छौँ ।”
अधिकारीले भृकुटीमण्डपमा बजारको व्यवस्था गर्ने विषयमा छलफल गरिने जानकारी दिए । विचौलियाबिना किसानका सुन्तला काठमाडौँ आउनुपर्ने उनको भनाइ थियो । “देवघाटमा उत्पादित सुन्तलामा प्रतिकेजी रु पाँच गाउँपालिकामार्फत किसानलाई अनुदान उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढाउन छलफलमा जुट्ने तयारी गरिरहेका छौँ”, अधिकारीले भने । प्राङ्गारिक सुन्तला काठमाडौँवासीले उपभोग गर्न पाउने वातावरण बन्ने अपेक्षा गरिएको उनले बताए ।
तनहुँको कर्णालीका रुपमा देवघाटका ग्रामीण भेगलाई चिनिन्छ । यस स्थान सुन्तला उत्पादनको पकेट क्षेत्र हो । यहाँ उत्पादित करोडौँको सुन्तला बजारसम्म पुर्याउन बाटोका कारण सकस हुने गरेको छ । यहाँको मुख्य उत्पादन नै सुन्तला रहेको स्थानीय बताउँछन् ।
पालिकाका विभिन्न वडामा यस वर्ष करोडौँको सुन्तला उत्पादन भएको अध्यक्ष थापाले जानकारी दिए । सुन्तला उत्पादनका लागि यहाँको हावापानी र माटो राम्रो भएकाले देवघाट नेपालमै प्रख्यात मानिएको उनको भनाइ थियो ।
यहाँका ग्रामीण क्षेत्र, सडक तथा पुलको अभाव, भरियामार्फत ढुवानी गर्नुपर्नेलगायत कारणले बजारसम्म पुर्याउन समस्या हुने गरेको थापाले जानकारी दिए । यहाँ उत्पादित सुन्तला सिधै काठमाडौँको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा लगिन्छ । त्यहाँ देवघाटको सुन्तला नेपालकै उत्कृष्ट मान्दै कारोबार हुने कृषकको भनाइ छ ।