काठमाडाैं - शोभा गहतराजले आफ्नो श्रीमान गुमाएको ८ वर्ष पुगिसक्यो । राष्ट्रको लागि सेवा गर्दागर्दै उनका श्रीमान थमन विक मारिए हुन् । २५ भदौ २०७२ मा थमन आन्दोलन नियन्त्रण गर्न पुगेका थिए । आन्दोलनकारीसँग मुठभेडमा घाइतेपछि पछि उपचारका लागि एम्बुलेन्समा लाँदै गर्दा थुुतेर आन्दोलनकारीहरूले लखेटीलखेटी छुरा प्रहार हत्या गरे ।
महोत्तरीको जलेश्वरमा उनको यसरी विभत्स हत्या हुँदा उनका छोरा सुवोध भर्खर चार वर्ष पुगेका थिए । अहिले सुवोध १२ वर्ष पुगेका छन् । बुवाको हत्यामा संलग्नलाई कारबाही नभएको भन्दै सुवोध अहिले आमासँगै काठमाडौं आएका छन् । ठाउँठाउँ धाएर न्यायको भिख मागिरहेका छन् । बाँके नेपालगञ्ज–२५ शान्तिपुरका सुवोधलाई आफ्ना बुुबाको हत्या भएको भन्नेबाहेक केही पनि थाहा छैन ।
२८ वर्षमै विधुवा बनेकी शोभाको एउटै माग छ, न्याय पाउनुप¥यो । थमनको हत्या आरोपी हुन् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता लक्ष्मी महतो कोइरी । मधेस आन्दोलनका बेला उनी मधेसी जनअधिकार फोरमबाट राजनीति गर्थे ।
तर, गत वर्षको चुनावअघि उनी एमालेमा प्रवेश भए ।
४ मंसिर २०७९ मा भएको चुनावमा माओवादी नेता गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बने । उनी हाल निलम्बित छन् । प्रहरीका अनुसार उनी फरार छन् ।
उसो त उनी संसद् बैठकमै तीनपटक सहभागी भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि पद तथा गोपनीयताको शपथ ग्रहण गर्न र प्रधानमन्त्री पुष्पकमल दाहाललाई पहिलोपटक विश्वासको मत दिन । जबकि उनी प्रहरीको फरार सूचीमा थिए ।
महतोविरुद्ध हाल उच्च अदालत जनकपुरमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा विचाराधीन छ । अदालतले १९ मंसिर २०७७ मा महतोलाई पक्राउ गरेर पुर्पक्षका लागि थुनामै राख्न आदेश दियो । तर, अझै उनी पक्राउ परेकै छैनन् ।
जिल्ला अदालत महोत्तरीले २ असोज २०७६ मा महतोलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी रकम बुुझाएर उनी थुुनामुक्त भएका हुन् । त्यसपछि दल परिवर्तन गर्दै सांसद भए । हाल निलम्बित अवस्थाका उनलाई पक्राउ गरेर थुनामा नराखिएपछि शोभाले न्यायको अनुभूति गरेकी छैनन् । श्रीमान् थमनका लागि न्यायको लडाइँ जीवनको अन्तिमसम्मै लड्ने तयारी शोभाको छ । सरकारले शोभाको मागको चाडो सुनुवाई गर्नुपर्छ । शक्तिको आडमा कसैलाई छुट गर्ने अधिकार सरकारसँग छैन ।