काठमाडौं– वैदेशिक रोजगारीका लागि इजरायलमा पठाइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । वैदेशिक रोजगार विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै इजरायलमा रोजगारीको अवसर भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको उल्लेख गरेको छ ।
इजरायलको विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ ठगी गिरोहले गैरकानुनीरुपमा रकम उठाउने गरेको सूचना जानकारीमा आएको विभागले जनाएको छ । रोजगारीको प्रलोभन देखाउने यस्ता गिरोहबाट सचेत रहन विभागले आग्रह गरेको छ । कुनै व्यक्ति वा समूहलाई इजरायलमा श्रमिक पठाउने स्वीकृति नभएको उल्लेख गर्दै विभागले नेपाल–इजरायल सरकारबीच सम्पन्न श्रम सम्झौता बमोजिममात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदारहरु पठाउने काम भइरहेको उल्लेख गरेको छ ।
त्यस्तै इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिकहरू पठाउने सम्बन्धमा पनि कुनै निर्णय नभएको विभागले प्रस्ट पारेको छ । यस विषयमा द्विपक्षीय सरकारबीच छलफल भइरहेको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए । ‘इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ ठगी गर्ने व्यक्ति तथा समूहले गैरकानुनी रूपमा रकम उठाउने गरेको सूचना विभागमा आएको छ,’ उनले भने, ‘यस विषयमा विभागले सूक्ष्म अनुसन्धान सुरु गरिसकेको छ, तर पनि सम्बन्धित सबैलाई सचेत रहन आग्रह गर्दै विज्ञप्ति जारी गरेका हौं ।’
विभागले कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत नेपालीहरु जाने गरेकामा हाल त्यस्तो कार्य रोकिएको जनाएको छ । अन्य क्षेत्रमा पनि रोजगारीको प्रलोभन देखाउँदै हुनसक्ने ठगीबाट सचेत रहन विभागले आग्रह गरेको छ । द्विपक्षीय सम्झौताबमोजिम हाल सरकारले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउँदै आएको विभागले उल्लेख गरेको छ ।
केही दिनयता इजरायलको कृषि क्षेत्रमा श्रमिकको माग रहेको भन्दै विभिन्न गिरोहले लुकीछिपी अन्तरवार्तासमेत लिएको खबर बाहिरिएपछि विभागले अनुसन्धान अघि बढाएको बताइएको छ ।