‘यो छोरो बढला, पढाइ गर्ला, दूध भात खान देला’ भन्ने नेपाली उखान अहिले साँच्चै नै उखान नभएर यथार्थ भएको छ । चित्रबहादुर त्यही कुराले दुःखी छन् । गाउँमा हलो जोतेरै भए पनि जीवन निर्वाह गर्ने उनले भीरपाखामै आफ्नो सम्पूर्ण जीवन बिताए । त्यही भीरपाखामा प्रशस्त अन्नपात फल्थे । थरिथरिका फलफूल फल्थे । सक्दो खाने, छिमेकीलाई बाँढ्ने अनि बढी भएको बिक्री वितरण गरी गरेर दुई–चार पैसा हातमा हुन्थ्यो । तर अहिले चित्रबहादुर बाँझो खेतबारी हेरेर चित्त बुझाइरहेका छन् ।
आफूले खनजोत गरेर खाद्यान्न प्रशस्त उब्जनी गरेर त्यही बिक्री गरेर पढाएका छोराछोरीले गाउँ छाडेको पनि निकै भइसकेको छ । चारभाइ छोरामध्ये तीनभाइ त मुग्लान छिरेको पनि धेरै भयो । एउटा छोरो पनि पल्लो जिल्लामा जागिरे गर्छ । तर त्यसबाट ऊ सन्तुष्ट हुन सकेको छैन ।
गाउँमा उही चित्रबहादुर र उसकी जहानमात्र बस्थे । तीन तल्ले घर दुईतल्लामा त चिटिक्क परेको बार्दली नै छ । दक्षिण फर्केको घरमा न्यानोका लागि कुनै चिन्तै छैन । आँगन बिछ्याएको टेलिइँटामा नांगै खुट्टाले उफ्रिँदै खेलेर हुर्किएका चारै भाइ छोराका लागि सेतो कमेरोले भित्ता लिपेको, रातोमाटोले पिँढी पोतेको अनि झ्याल ढोकामा लगाएको निलो रङले कति सुहाउँथ्यो त्यो घर ।
अहिले त कमेरो पनि विस्तारै खुलिएको जस्तो देखिन थालेको छ । यसपालिको दसैंमा चित्रबहादुरकी जहान भुण्टी थला परेकै कारण कमेरो लिन जान सकिनन् । त्यही भएर पनि यो वर्ष कमेरो लगाउन पाइएन ।
चित्रबहादुरले घर नजिकै पहिरोको छेउमा रोपेको सौर रुखको पात क्रमशः झरेजस्तै उनको जीवनका खुसीहरु पनि क्रमशः झर्दै गइरहेका छन् । मंसिरको महिना आँगनमा सुकाएको धानभरि पहेँलै सौरका पातले ढाकेको छ । त्यही पात बल्लतल्ल पन्छाउँछन् । अनि त्यही पात झरेको सौरको रुखलाई टोलाएर हेर्छन् र आँखाभरि आँशु टिलपिलाउँछन् ।
सात वर्षकै उमेरमा टुहुरा भएका चित्रबहादुरले निकै संघर्ष गरेर डाँडामा बनाएको त्यो घर अनि पहिरोको डर । त्यही डरले युवा अवस्थामा सौरको रुख रोपेका थिए । जसरी सौरको रुख मौलाउँदै गयो चित्रबहादुरका घरमा क्रमश चारभाइ सन्तान मौलाउँदै गए । तर अहिले त्यही घर बिरानो भएको छ । पात झरेर हाँगामात्र बाँकी रहेको सौरको रुखजस्तै चित्रबहादुरको शरीर छ ।
डोलको खेतको धान प्रशस्तै हुन्थ्यो । पारि बारीमा टन्नै मकै र फापर उत्पादन हुन्थ्यो । वनपालेको जागिर पनि गरेका थिए चित्रबहादुरले । तर त्यो सबै इतिहासमात्र भयो । तिहारको टीकाको दिन उसकी जहानलाई दैवले चुँडेर लग्यो ।
हुन त चारभाइ छोरा थिए । कसैले पनि आमालाई छुनै पाएनन् । कोही जापान, कोही अमेरिका, कोही अष्टे«लिया उतैबाट चित्रबहादुरसँग भक्कानिएर रोए । ‘बा जे हुनु भइगो हामी टाढा छौं, भाग्यले दाहसंस्कार गर्न पनि आउन पाउने भएनौं, अब कुनै बाहुन राखेर आमाको सम्पूर्ण काम गरिदिनुहोला !’
सात समुद्रपारी फिरङीको देशबाट फोनमा भनेजस्तो त के हुन्थ्यो होला चित्रबहादुरलाई । उनी निःशब्द छन् । बोल्न सकिरहेका छैनन् । ११ वर्षको उमेरमा भित्र्याएकी जहानलाई दैवले पनि हरेर लग्यो । छोरा बुहारीलाई भन्दा सयौं गुणा बढी पीर, चिन्ता र पीडा त चित्रबहादुरलाई पो छ त ।
उही सौरको पात झरेको रुखजस्तै भएका छन् अहिले चित्रबहादुर एक्लोऽ एक्लो भएका छन् । ८० लाग्दै गरेका चित्रबहादुरलाई कमेरोले पोतेको त्यो घर, त्यो फलैँचा, बार्दली पनि बिरानो भएको छ । छिमेकमा त कोही नै छैनन् । आफ्ना उमेरका सबै कोही तेल भिसा त कोही कुन भिसामा फिरङीका देश पुगिसकेका छन् ।
उनलाई पनि तीनभाइ छोराले नबोलाएको त कहाँ हो र ! आफू जन्मेको माटो नै प्यारो लागेर उनले गाउँ छाडेनन् । तर गाउँ त शून्य थियो । त्यही शून्य गाउँमै संघर्ष र रगत पसिना बगाएकाले चित्रबहादुर माटोको निकै माया गर्थे । जसरी कलिलै उमेरमा भित्र्याइएकी उनकी जहानजस्तै गरी गाउँमा बनाएको त्यही कमेरोले लिपेको घरजस्तै ।
तर त्यो घर उनका चारभाइ छोरालाई कहिल्यै मोह भएन । बरु पराइका सामु झुक्ने आफ्नो माटोलाई माया नै भएन ।
आज चित्रबहादुरका आँखा ओभाएकै छैन । मुटुभन्दा प्यारी जहानलाई दैवले लगेदेखि नै उनको आँखा उस्तै रसाएका छन् । आज अझ बढी भएको छ । तीनभाइ छोराले चित्रबहादुरलाई गाउँमा भएको जायजेथा बेचेर उतै आउन भनेका छन् । तीनवटैलाई घर, गाडी खरिद गर्न गाह्रो भयो रे ! ‘गाउँमा भएको त्यो लामपाटोको के काम ?’ डोल के गर्न चाहियो र अनि सिमखेतको त कामै छैन रे ! त्यही भएर आमाले छाडेको ४५ दिन पनि हुन नपाउँदै चित्रबहादुरसँग निकै संघर्ष गरेर हुर्काएका छोराहरुले घरखेत बेचेर विदेश पठाउन उर्दी जारी गरे ।
आँगनको डिलमा बसेर, त्यही आफूजस्तै वृद्ध सौरको रुखसँग पीडा पोख्दै छन् चित्रबहादुर । उनको कुरा सुनिदिने पनि कोही छैन । बुझिदिने पनि कोही छैन । अनि सँगै बस्ने पनि कोही छैन । न टेक्ने लौरो साथमा छ न समाउने कुनै हाँगा नै छ ।
हुन त गाउँ नै रित्तो छ । गाउँमा कोही छैन । गाउँका हरेक मूल ढोकामा ताल्चा झुण्डिएका छन् । गाउँबाट सदरमुकाम अनि त्यहीबाट राजधानी हुँदै सात समुद्रपारि लाखौं युवा पुगिसकेका छन् । चित्रबहादुर त्यही सौरको रुखलाई बह पोखिरहेका छन् । ‘अब म यहाँ कसरी बसुँ’ मैले यो घर मात्र रित्तो देखिरहेको छैन । मेरो गाउँ नै रित्तो छ । कसका लागि म यहाँ बसौं । डाँडामाथिको घाम हुँदा पनि कसलाई कुरेर बसौं ? जसका लागि मैले मेरा सारा जीवन संघर्षमा बिताएँ । यही माटोको सुगन्धले ।
तर, विचरा सौरको वृक्ष चित्रबहादुरको कुरामा सही थापेझैँ गरी निर्जिव रुख हल्लिँदै सहमत जनाउँछ । आफ्ना पात झरेका हाँगा पारि वनबाट आएको हावाकै कारण हल्लिँदै चित्रबहादुरलाई सान्त्वना दिन खोजिरहेको जस्तो गर्छ । तर चित्रबहादुर एक टकले सौरको रुखमा टोलाउँदै आँखाबाट बलिन्द्र आँशु झार्दै एक थोपा पानी पिलाउनेको आशामा डङरङ्ङ ढल्छन् । सायद अब चित्रबहादुर फर्किने छैनन् । उनका चारभाइ छोराले उनको मुख कहिल्यै देख्न पाउने छैनन् ।
कवि अर्जुन पराजुलीले भनेजस्तै गाउँ भएको छ । अब केही समय पनि देश नै त्यस्तै हुने संकेत देखिएको छ ।
‘गाउँमा बोल्ने कोही छैन
पाहुना आउँदा घरको ढोका खोल्ने कोही छैन ।