मुलुकको अर्थतन्त्र धराशायी बन्दै जाँदा टेको थाम्ने काम रेमिट्यान्सले गर्दै आएको छ । मुलुकभित्र उत्पादन बढाउन नसक्दा दैनिक उपभोग्य सामानदेखि विलासिताका वस्तुसम्म आयात गर्नुपर्छ । मुलुकबाट बाहिरिने सामान भने सीमित संख्यामा छ ।
यसले व्यापार घाटा निरन्तर बढाइरहेको अवस्था छ । आयात बढी हुँदा मुलुकबाट ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिन्छ । जसले गर्दा देशको विदेशी मुद्रा सञ्चितिमा चाप पर्ने गर्दछ । यस्तो अवस्थामा निरन्तर बढिरहेको विप्रेषण आप्रवाह (रेमिट्यान्स)कै कारण विदेशी मुद्रा सञ्चिति सहज स्थितिमा राख्न ठूलो योगदान पुगिरहेको तथ्यांकबाट पुष्टि हुन्छ । यस्तो रकम वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पठाउने गरेका छन् ।
वैदेशिक रोजगार नेपालीहरुका लागि बाध्यता बनेको छ । स्वदेशमा सीप र क्षमताअनुसारको रोजगारी पाउन मुस्किल छ । त्यसैले वैदेशिक रोजगारीमा जाने युवाहरुको लर्को विमानस्थलमा देख्न सकिन्छ । हरेक दिन हजारौं युवा रोजगारीको खोजीमा देश छाडेर विभिन्न मुलुक पुग्ने क्रम बढ्दो छ । विगतमा राजनीतिक अस्थिरताले वैदेशिक रोजगारीमा जाने क्रम बढाए पनि अहिले मुलुकमा शान्तिपूर्ण वातावरण हुँदासमेत वैदेशिक रोजगार अधिकांश युवाहरुको रोजाइ बनिरहेको छ । यसरी वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या बढी हुँदा ठगीका घटनाहरु पनि लगातार बाहिर आउने गरेका छन् ।
आकर्षक रोजगारीको प्रलोभन देखाएर युवाहरुलाई ठगी गर्ने गिरोह निरन्तर सक्रिय रहेको छ । युवाहरुबाट लाखौं रकम ठगी गरेका घटना बाहिर आइरहेका छन् ।
यही क्रममा इजरायलमा पठाइदिने भन्दै रकम असुल गरी ठगी गर्ने गिरोह सक्रिय रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रस्ट पारेको छ । ब्युरोले केहीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । वैदेशिक रोजगार विभागले पनि इजरायल रोजगारीका नाममा ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । कोरिया नेपालीहरुको आकर्षक रोजगार गन्तव्य हो ।
नेपाल र इजरायल सरकारबीच भएको सम्झौताअनुसार त्यहाँको स्याहार केन्द्रहरुमा सहायक कामदारको रुपमा काम गर्न नेपालीहरु त्यहाँ पुग्ने गरेका छन् । विभागले इजरायल सरकारसँग भएको समझदारी बमोजिमबाहेक अन्य क्षेत्रमा रोजगारीका लागि पठाउन अनुमति नदिइएको स्पष्ट पारेको छ ।
वैदेशिक रोजगारी बाध्यात्मक भए पनि राम्रोसँग बुझेर मात्र जानुपर्छ । यसमा जो जाने हो ऊ सचेत बन्नै पर्छ । अर्कोतर्फ ठगी नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्नै पर्छ । विभिन्न बहानामा ठगी गर्ने गिरोहलाई कारबाहीको दायरामा ल्याउनुको विकल्प छैन । मुलुकको अर्थतन्त्र धानिरहेको वैदेशिक रोजगार क्षेत्रमा भइरहेको ठगी नियन्त्रणका लागि सरकार थप गम्भीर बन्न जरुरी छ ।