काठमाडौं (प्रस)– वैदेशिक रोजगार विभागअन्तर्गतका इपिएस कोरिया शाखाले भाषा परीक्षामा आवेदन दिन नपाउनेहरुलाई धर्ना, जुलुस तथा विरोधका कार्य नगर्न आग्रह गरेको छ । शिप बिल्डिङ क्षेत्रमा जान भाषा परीक्षा दिएर पास नभएकाहरूले उत्पादनमूलक क्षेत्रको परीक्षामा पनि आवेदन दिन पाउनुपर्ने माग राख्दै कार्यालयमा धर्ना दिन थालेपछि शाखाले उक्त आग्रह गरेको हो । शाखाले दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रमा आएको मागअनुसार कामदार पठाउन सञ्चालन गर्न लागिएको भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ । जसमा शिप बिल्डिङतर्फ भाषा परीक्षामा अनुत्तीर्ण भएकालाई सहभागी नगराइएको भन्दै विरोध भइरहेको छ ।
दिनहुँ विरोध प्रदर्शन हुन थालेपछि शाखाले मंगलबार एक विज्ञप्ति जारी गर्दै उत्पादनमूलक क्षेत्रको परीक्षामा आवेदन दिन पाउनुपर्ने माग राख्दै ज्ञापनपत्र पेस गरी धर्ना, जुलुसजस्ता कार्यहरु गरिरहेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ज्ञापनपत्रमा उल्लेख गरिएको मागको सम्बन्धमा दक्षिण कोरियाको नेपालस्थित सम्पर्क कार्यालय एचआरडी सर्भिस अफ कोरिया, इपिएस सेन्टर नेपाल र अन्य सम्बन्धित निकायहरुसँग छलफल भइरहेको शाखाले जनाएको छ । सो सम्बन्धमा अन्तिम निश्कर्ष आउनासाथ सूचना प्रकाशित गरिने बताइएको छ ।
यही मंसिर १९ गते प्रकाशित २०२३ को उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षाको फाराम भर्ने सूचनाको बुँदा नं. ५ को (च) मा उल्लेख भएको विषयलाई हटाउनुपर्ने २०२३ को शिप बिल्डिङतर्फको परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको माग छ । उक्त बुँदामा २०२३ को शिप बिल्डिङतर्फको परीक्षा सहभागी भएका परीक्षार्थीहरुले सन् २०२३ मा नै हुने कुनै पनि क्षेत्रको कोरियन भाषा परीक्षाका लागि आवेदन दिन नपाउने उल्लेख गरिएको छ । शिप बिल्डिङको क्षेत्रमा ३२ हजार बढी परीक्षार्थीले भाषा परीक्षा दिए पनि चार हजार ९८ जनामात्रै उत्तीर्ण भएका छन् । अनुत्तीर्ण भएका २८ हजारभन्दा बढीलाई पनि पुनः उत्पादनमूलक क्षेत्रको परीक्षामा सहभागी गराउनुपर्ने माग राख्दै केही दिनदेखि शाखा कार्यालयमा धर्ना दिइरहेका छन् ।