काठमाडौं– सेटिङ गरेर ‘भिजिट भिसा’मा विदेश पठाउने गिरोहमा अध्यागमन विभागका कर्मचारीसमेत संलग्न रहेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले फर्जी कागजात बनाई भिजिट भिसामा विदेश पठाएर मानव तस्करीमा संलग्न रहेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको हो । उनलाई बुधबार उनकै निवासबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सोही आरोपमा नेपाल एयरलाइन्सका दुई कर्मचारीसमेत पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले बुधबार पत्रकार सम्मेलन आयोजना गरी असोज १९ गतेदेखि हालसम्म नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उक्त प्रकरणमा पक्राउ परेकामध्ये ट्राभल एजेन्सी सञ्चालक छ जना, प्रहरी एकजना, पूर्वप्रहरी एकजना, नेपाल एयरलाइन्सका दुईजना र अन्य ११ जना रहेको बताइएको छ । पक्राउ परेकाहरुमध्ये नौ जनामाथि संगठित अपराध र १२ जनामाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आठजना धरौटीमा छुटिसकेको अनुसन्धान कार्यालयको भनाइ छ ।
नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत अरविन्द यादव र अध्यागमन विभागमा अधिकृत खड्काले फर्जी कागजात बनाउन तथा विदेश पठाउन सघाउने गरेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सरकारी अधिकृतहरुले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लाभसमेत लिने गरेको अनुसन्धानबाट खुलेको छ । उनले सोही आरोपमा नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेललाई यसअघि नै पक्राउ गरेर अनुसन्धान गरिरहेको बताए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले संकलन गरेर पठाएका भिसासहितका कागजात अनुसन्धान गर्दा गिरोहले भिजिट भिसाका लागि फर्जी कागजात बनाई विदेश पठाउने गरेको पाइयो,’ एसपी रेग्मीले भने ।
भिजिट भिसामार्फत विदेशमा पठाएर काम लगाइदिने भन्दै फर्जी कागजात बनाइदिने ट्राभल एजेन्सीका सञ्चालकहरु वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल र एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलाई पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ ।
कागजात मिलाएबापत ट्राभल एजेन्सीहरुले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको छ । अध्यागमन विभागका कर्मचारीहरुले नयाँको हकमा ५५ हजार रुपैयाँ र पुरानो (एकपटक विदेश पुगेर फर्किएका) हरुको हकमा ४० हजार रुपैयाँ लिने गरेको पाइएको अनुसन्धानबाट खुल्न आएको प्रवक्ता रेग्मीले बताए ।
गत असोज १५ गतेदेखि हालसम्म भिजिट भिसामा विदेश जान लागेका नेपाली युवा युवतीहरुको एक हजार ५१३ थान शंकास्पद कागजातसहित राहदानी अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त भएको पनि प्रहरीले उल्लेख गरेको छ । जसमध्ये २४६ जनाको कागजात शंकास्पद र नक्कली रहेको बताइएको छ । प्लस टु अध्ययनको सर्टिफिकेट, श्रम स्वीकृतिको पत्र, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेन्टलगायतका कागजात नक्कली देखिएको प्रहरीले जानकारी दिएको छ ।