काठमाडौं (प्रस)– सेटिङ गरेर ‘भिजिट भिसा’मा विदेश पठाउने कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत तथा प्रहरी उपरीक्षक मिलन केसीका अनुसार भिजिट भिसामा ३०० जना विदेश पठाउने कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा निमाछिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ (लामा) र पदम लामा रहेका छन् । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ घर भएका मनोज हाल बौद्धमा बस्दै आएका थिए । यस्तै रामेछाप दोरम्भा गाउँपालिका–७ घर भएका पदम गोकर्णेश्वरमा बस्दै आएका छन् ।
सूचना अधिकृत केसीका अनुसार मनोज र पदम नजिकको नातेदार भएको र निजहरुले नक्कली कागजातका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीलाई सेटिङ मिलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म लिई युवायुवतीलाई विदेश पठाउने गरेका थिए ।
यही मंसिर २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालाई उक्त कार्यको अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएको थियो । निज अधिकृत खड्कामार्फत पक्राउ परेका मनोज र निजको सालो पदमले ३०० जनालाई सेटिङ मिलाएर पठाएको अनुसन्धानबाट खुलेको उपरीक्षक केसीले बताए ।
उनले भने, ‘पक्राउ परेकालाई लिखितसम्बन्धी कसुरसमेतका अपराधमा आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको छ ।’