काठमाडौं– सुख्खायाम नजिकिँदा काठमाडौं उपत्यकाका बासिन्दालाई पिउने पानीको जोहो गर्ने चिन्ता छ । जमीनमुनि पानीको सतह घट्दो छ भने धारा, पोखरी र इनार सुक्नेक्रम छ । तर उपत्यकाबासीलाई पानी खुवाउन बनाइएको मेलम्ची खानेपानी आयोजना भने अलपत्र बनेको छ ।
मेलम्चीको पानी फेरि कहिले काठमाडौं आउने हो रु टुंगो छैन । गएको वर्षामा खोलामा आएको बाढीले मुहान क्षतिविक्षत् पारेको छ भने सुरूङभित्र ढुंगा र फोहोर पसेको छ ।
तर मुहान मर्मत र सुरूङमा सरसफाई गरेर पानी ल्याउने विषयमा सरकार संवेदनशील देखिदैन । कामको जिम्मा लिएको निर्माण कम्पनी फिल्डमा छैन । करिब ६ महिनादेखि मेलम्चीको पानी काठमाडौं झरेको छैन ।
अढाई दशकदेखि निर्माणाधीन आयोजना अझै अधुरै छ । एकातिर आयोजना बन्दा आफ्नो गाउँको विकास हुन्छ भन्ने ठानेका मेलम्चीबासी निराश छन् भने अर्कोतिर आयोजना बनेर पानी खाउँला भन्ने सोचेका काठमाडौंबासी आक्रोसित छन् ।
एसियाली विकास बैंकको ऋण सहयोगमा बन्दै गरेको आयोजनामा अहिलेसम्म ६१ अर्ब रुपैयाँभन्दा धेरै खर्च भइसकेको छ । त्यसो त यो राष्ट्रिय गौरवको आयोजनासमेत हो ।